जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार ०७:३३

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय ध्येय पूरा हुने विश्वास : सभामुख सापकोटा


काठमाडौं, फागुन ७ । सभामुख अग्निप्रसाद सापकोटाले सबै नागरिकले अनुभूति गर्न सक्ने लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणको अभ्यासमा जुट्ने प्रजातन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

७० औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले संविधासभामार्फत जारी संविधानले प्रदत्त गरेका मौलिक हक तथा अन्य व्यवस्थाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय ध्येय पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले प्रजातन्त्र प्राप्तिका लागि निरंकुश र जहानियाँ राणा शासनविरुद्ध गरेको सङ्घर्ष र सफलताको सात दशक पूरा भएको अवसरमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जीवन आहुती गर्ने शहदिप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । “घाइते, अपाङ्ग र तत्कालीन राज्यबाट पीडा भोग्न बाध्य सम्पूर्ण नागरिकको उच्च बलिदानी भावनाको स्मरण गर्दछु”, सभामुखद्वारा जारी सन्देशमा भनिएको छ । उहाँले शहिदको बलिदान, उच्च साहस र परिवर्तनको तीव्र इच्छाका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक अवस्थामा आइपुगेको बताउनुभएको छ ।