जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार ०९:१२

राष्ट्रिय आकांक्षालाई व्यवहारमा उतार्नु आजको आवश्कता : मुख्यमन्त्री गुरुङ


पोखरा, फागुन ७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै यसलाई जीवनपद्दति बनाएर अघि बढ्न दिवसले प्रेरणा दिन सकोस भन्ने विश्वास लिनुभएको छ । सन्देशमा मुख्यमन्त्री गुरुङले अहिलेसम्म प्राप्त सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई व्यवहारमा उतार्नु आजको आवश्कता, प्रमुख कार्यभार र साझा दायित्व रहेको बताउनुभएको छ ।

प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उहाँले भावपूर्ण श्रद्धाञ्जलि समेत व्यक्त गर्नुभएको छ । विसं २००७ फागुन ७ गते १०४ वर्षीय निरङ्कुश जहाँनियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रतातन्त्र दिवस मनाउने गरिएको छ ।