जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार १९:४७

तयार भयो महाशिवरात्रिको सुरक्षा योजना : बिशेष पास खारेजदेखि राष्ट्रपतिको दर्शनसम्म यस्तो छ तयारी


काठमाडौं, फागुन ७ । महाशिवरात्री पर्वमा पशुपति मन्दिरमा आउने दर्शनार्थीको आवतजावतलाई सहज र सुरक्षित बनाउन पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । महानगरीय प्रहरी कार्यालयले महाशिवरात्रि सुरक्षा योजनाअन्तर्गत विशेष सुरक्षा व्यवस्था तयार पारी यस्तो योजना अघि सारेको हो । शिवरात्रीमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपीको कमान्डमा रहने गरी सुरक्षाकर्मी परिचालन गरिनेछ ।

विशेष सुरक्षा योजनाको प्रत्यक्ष निगरानी र सहजीकरण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्नेछ । सम्भावित सुरक्षा चुनौतीको निगरानीका लागि ठूलो संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । यस वर्षको महाशिवरात्रिको दशनार्थ पशुपतिनाथ आउने भक्तजनको संख्या तीन लाखभन्दा बढी हुने महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी बिश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार आवतजावतलाई सुरक्षित तथा व्यवस्थित गर्न सुरक्षा सतर्कता बढाइएको छ । जसका लागि ‘रिजर्व फोर्स’ मा रहेका प्रहरीलाई समेत परिचालन गरिएको छ । यस्तो फोर्स गौशाला प्रहरीवृत, विमानस्थल सुरक्षा कार्यालय, चाबहिल तथा गुह्वेश्वरीलगायत श्लेषमान्तक क्षेत्रमा तैनाथ हुनेछ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले महाशिवरात्री विशेष सुरक्षा योजनाको सबै तयारी पूरा भएको जनताटाइम्सलाई बताउनु भयो । ‘गैरकानुनी क्रियाकलापअन्तर्गत मदिरा, गाँजा चरेसजस्ता लागुऔषध प्रयोगमाथि यसपटक पूर्ण नियन्त्रण गरिएको छ, सुरक्षामा कुनै कमी हुन नदिने गरी बिशेष योजना बनाइएको छ,’ डिआइजी पोखरेलको भनाई छ ।

पशुपति क्षेत्र विकास कोषले यसपटक दर्शनार्थीका लागि जारी गरिने विषेश पासको व्यवस्था खारेज गरेको छ । पास हुने दर्शनार्थीले सुरुमै पूजाआजा गर्न पाउने र सर्वसाधारणले भने घण्टौं लाइन बस्नुपर्ने गुनासो बढेपछि यस बर्षदेखि बिशेष पासको व्यवस्था हटाइएको हो । यसपटक मन्दिरको दर्शन छिटो र छरितो बनाउने उद्देश्यले एकद्वार प्रणाली लागू गरिएको छ । जसनुसार पश्चिमतर्फको गौशाला तिलगंगा, दक्षिणतर्फको जयबागेश्वरी र गुह्वेश्वरी तर्फबाट चारवटा लाइनमार्फत मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । दर्शनपश्चात् जुन क्षेत्रबाट प्रवेश गरेको हो सोही क्षेत्रबाटै निस्कने व्यवस्था गरिएको छ । विगतमा मन्दिर प्रवेश गर्ने लाइन व्यवस्थापन हुन नसक्दा दर्शनपछि बाहिरिने दर्शनार्थीको भीड बढ्नाले मन्दिर परिसर तनावग्रस्त हुने गरेको थियो ।

राष्ट्रपतिको दर्शन साँझ ५ बजे

महाशिवरात्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजे पशुपति मन्दिर पुगी विशेष पूजा गर्ने कार्यतालिका तय भएको छ । राष्ट्रपति मन्दिर प्रवेश गर्ने समयमा सर्वसाधारणलाई मन्दिर प्रवेश गर्न दिइने छैन । प्रहरीका अनुसार राष्ट्रपति पशुपति मन्दिरमा आउनुपूर्व १५ मिनेटअघि देखि दर्शनको समयसम्म गरी करिब आधा घण्टा मन्दिर परिसर खाली रहने छ । राष्ट्रपतिबाहेक अन्य उच्चपदस्थ अधिकारीको दर्शनको समयमा भने दर्शनार्थीको आवतजावत नरोकिने ब्यवस्था गरिएको छ ।