जनता टाइम्स

११ फाल्गुन २०७६, आईतवार १६:४१

बिमा संस्थानलाई अर्थमन्त्री खतिवडाको निर्देशन : ठूला र धनी वर्गलाई मात्र हेर्ने, सानालाई बेवास्ता गर्ने काम नहोस


काठमाडौं, फागुन ११ । अर्थमन्त्री डा युवराज खतिवडाले बीमा योजनामा आधारित समाजिक सुरक्षामा जनतालाई समेट्न सकिएमा सबैखाले सामाजिक सुरक्षा योजना सफल हुने बताउनु भएको छ । राष्ट्रिय बिमा संस्थानको ५३औं वार्षिकोत्सव कार्यक्रममा उहाँले सो भनाई राख्नुभएको हो ।

‘सामाजिक सुरक्षा नागरिकको मौलिक हक हो भनिएको छ, बीमा योजना योगदानमा आधारित सामाजिक सुरक्षा हो, यसमा बढीभन्दा बढी नागरिकलाई ल्याउन सकियो भने सबैलाई सामाजिक सुरक्षा भनेर घोषणा गरिएको सर्वव्यापी लक्ष्य र अवधारणा पूरा हुन्छ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले बीमाको दायरा अझै बढाउन नागरिकको पहँुच विस्तार गर्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।

‘अहिले मुलुकमा कूल जनसङ्ख्याको २२ प्रतिशतमा जीवन बीमा पुगिसकेको छ । बीमाको दायरा अझै बढाउन नागरिकको पहँुच विस्तार गर्नुपर्छ, जसको पहुँच वित्तीयरुपमा पुग्दैन, उसलाई सरकारले सहयोग गर्छ, निरपेक्ष गरिबीको रेखामुनि चरम गरिबीमा रहेकालाई बीमाको प्रिमियम तिर्न पैसा पुग्दैन भने त्यसलाई सरकारले सहयोग गर्छ,’ अर्थमन्त्री खतिवडाको भनाई थियो । चरम गरिबीमा रहेका परिवारको सङ्ख्या करिब १६ लाख ५० रहेको जानकारी दिँदै उहाँले सरकारले अहिले एक परिवारले तीन हजार ५ सयमा वार्षिक एक लाखबराबरको सुविधा प्राप्त गर्ने गरी व्यवस्था मिलाइएकामा त्यो सुविधा गरिबीको रेखामुनि रहेकालाई निःशुल्क गर्ने तयारी रहेको घोषणा गर्नुभयो ।

‘त्यो निःशुल्क गरेपछि एकैपटक १६ लाखभन्दा बढी परिवारका ७०/७५ लाख व्यक्ति बीमाको दायरामा आउनुहुन्छ, हामीले अघि बढाएको बीमाबाट पनि गरिबी निवारणमा योगदान पुग्नेछ, बीमा संस्थानबाट क्षतिपूर्तिको छिटो भुक्तानी भएका कार्यक्रम विस्तार हुन सहयोग पुग्नेछ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले पुरानो संस्थानलाई नयाँ ढाँचामा चलाउने प्रयाश गर्न पनि निर्देशन दिनुभयो ।

‘ठूला र धनी वर्गलाई मात्र हेर्ने होइन, सानालाई बेवास्ता गर्दा सरकारले अघि बढाएको बीमा विस्तारमा सहयोग पुग्दैन, बीमा विस्तार हुँदैन, पुरानो संस्थानलाई नयाँ ढाँचामा चलाउन प्रयास गरौं,’ अर्थमन्त्री खतिवडाको भनाई थियो । अध्यक्ष गङ्गाराम कँडेलले बीमा क्षेत्रमा विश्वसनीय संस्थाका रुपमा प्राप्त गरिरहेको छविलाई थप प्रभावकारी तुल्याउन संस्थालाई प्रविधिमैत्री र समयसापेक्ष तुल्याउन भइरहेका प्रयासबारे जानकारी दिनुभयो ।