जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार १९:४५

मुख्यमन्त्री शंकर पोखरेलको निश्कर्ष : मुलक समृद्धिको यात्रामा अघि बढेको छ


दाङ, फागुन १२ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलक समृद्धिको यात्रामा अघि बढेको निश्कर्ष सुनाउनु भएको छ । प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा दाङको बेलझुण्डीमा आयोजना गरेको प्रदेश एक्स्पोको आज समापन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

उहाँले जनताको साथ विना मुलुकलाई समृद्ध बनाउन नसकिने भन्दै मुलुकलाई समृद्ध बनाउन जनताले पनि साथ दिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेश एक्स्पोले नागरिकलाई स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँग जोड्न तथा सरकार र नागरिकबीच कडीका रुपमा काम गर्न सफल भएको बताउनुभयो । त्यस्तै प्रदेशको पहिचान, संस्कृति र सम्भावनालाई पनि एक्स्पोले झल्काएको उहाँले बताउनुभयो । उहाँले अहिले स्टलमा प्रदेशभित्र उत्पादन हुने कृषिजन्य वस्तु पनि राखिएको हो ।

ती कृषिजन्य वस्तु बजारीकरणमा समस्या रहेपनि त्यो समस्या समाधान गर्नतर्फ प्रदेश सरकार तत्पर रहेको बताउनुभयो । शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा प्रदेशका सबै जिल्लाका विशेषता तथा पहिचानसँग जोडिएका सामग्री राखिएको थिए । एक्स्पोमा आज गन्धर्र्व समुदायको प्रस्तुती राखिएको थियो । प्रदेश नं ५ का करिब ७० गन्धर्वले आफ्नो पहिचानसहित सारङ्गीको धुन प्रस्तुत गरेका थिए ।

दिनभर थारु नाच, थाल नाच, झुमा नाच, लठ्ठी नाच, कौडा तथा टप्पा नाच प्रस्तुत गरिएको थियो । साथै विभिन्न सचेतनामूलक नाटक पनि प्रस्तुत गरिएको थियो । प्रदेशका विभिन्न मन्त्रालयले आफ्नो सेवाका बारेमा जानकारी गराएका थिए । प्रदेश सरकारका मन्त्रालयले गरेका दुईवर्षे कामको नागरिकलाई प्रत्यक्ष जानकारी, जिल्लामा उत्पादित वस्तु र सेवाका बारेमा एक्स्पोमा सहभागीले एकै थलोबाट सबै जानकारी र सेवा दिइएको थियो ।