जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार २०:१४

तात्कालिन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको अन्तिम रिपोर्ट सार्वजनिक, यस्तो छ कारण


काठमाडौं, फागुन १२ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झण्डै एक वर्षपछि तत्कालीन विभागीय मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको दुर्घटनाको अन्तिम रिपोर्ट सार्वजनिक गरेको छ । जाँचबुझ आयोगले सबै निकायको राय सल्लाहपछि दुर्घटनाको रिपोर्ट सार्वजनिक गरिएको हो ।

जाँचबुझ आयोगको संयोजकमा पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमसहित नेपाल आर्मीका सहायक रथी दिपकप्रसाद बाँस्तोला, क्याप्टेन प्रमोद लामा सदस्य तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहनुभएको थियो । उक्त समितिले मौसम र चालकको आत्मविश्वास बढी हुँदा दुर्घटना भएको निश्कर्षसहितको रिपोर्ट सार्वजनिक गरेकोहो । सो रिपोर्टले चालकको ‘ओभर कन्फिडेन्स’ नै दुर्घटनाको प्रमुख कारणमध्येको एक भएको निश्कर्ष निकालेको छ ।  गत बर्षको फागुन १५ गते ताप्लेजुङको पाथिभरामा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री अधिकारीसहित ७ जनाले ज्यान गएको थियो ।

सो दुर्घटनामा मन्त्री अधिकारीसहित एयर डाइनेस्टीका सिइओ तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका नीजि सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकोप्टर चालक प्रभाकर केसीको निधन भएको थियो । दुर्घटनाको भोलिपल्ट फागुन १६ गते नै सरकारले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतम सहितको ४ सदस्यीय दुर्घटना जाँचबुझ समितिले हेलिकोप्टर दुर्घटना भएको झन्डै ९० दिनपछि असार ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासमक्ष प्रारम्भिक प्रतिवेदन पेस गरेको थियो ।

समितिले राज्यमन्त्री बुढासमक्ष बुझाएको प्रतिवेदनमा सो हेलिकोप्टर दुर्घटनाको कारण मुख्यगरी मौसम र पाइलटको कमजोरी रहेको तत्कालीन समयमा अनौपचारिक रुपमा मिडियामा जानकारी गराइएको थियो । राज्यमन्त्री बुढाले बुझेको प्रतिवेदन मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र सम्बन्धित सरोकारवाला निकायको रायपछि प्रतिवेदन बुझाएपछि अन्तिम रिपोर्ट मन्त्रालयले आज सार्वजनिक गरेको हो । समितिले प्रतिवेदन बुझाएलगत्तै अनौपचारिक रुपमा हेलिकोप्टर दुर्घटनाका प्रमुख कारण भन्दै मौसम, ओभर लोड, पाइलटको कमजोरी र कम्पनीले स्टान्डर्ट अपरेटिङ प्रोसिड्यअरसमेत पालना नभएको जानकारी दिइएको थियो । उक्त विषयलाई नै अन्तिम रिपोर्टमा समावेश गरिएको छ ।