जनता टाइम्स

१३ फाल्गुन २०७६, मंगलवार ०९:३५

ओली सरकारको कामले चालु वर्ष व्यापार घाटामा निरन्तर सुधार : सातौं महिना निर्यातमा उल्लेख प्रगति


काठमाडौं, फागुन १३

चालु आर्थिक वर्षमा नेपालको व्यापार घाटामा निरन्तर सुधार आएको छ । व्यापार घाटामा कमि आउँदा नेपालबाट हुने निर्यात पनि बढ्दै जान थालेको छ । चालू आर्थिक वर्षको शुरुवात बाटै व्यापार घाटा कम हुन थालेको थियो ।

वस्तु निर्यात उत्साहजनक रुपमा वृद्धि हुँदा त्यसको सकारात्मक प्रभाव व्यापार घाटामा देखिएको हो । चालु आवको सात महिना (साउन–माघ)सम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार व्यापार घाटा अघिल्लो वर्ष समिक्षा अवधिको तुलनामा घटेको छ ।

तथ्यांकअनुसार सात महिनामा कूल ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यसै महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस वर्ष ७ महिनासम्म आइपुग्दा ३.५६ प्रतिशतले आयात घटेको छ ।

सात महिनामा ६४ अर्ब ९७ करोड ७१ लाख रुपैया बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा ५३ अर्ब ७ करोड ८७ लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको थियो । यसअवधिमा निर्यात व्यापार २२.४१ प्रतिशतले बढेको छ ।

वैदेशिक व्यापारमा आयातको तुलनामा निर्यातको हिस्सा समेत निरन्तर बढिरहेको छ । भन्सार विभागको तथ्यांक अनुसार अहिले वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.४८ प्रतिशत पुगेको छ । गत वर्ष यसै समयमा ५.९९ प्रतिशत मात्र हिस्सा थियो । यो वर्ष निर्यातको हिस्सामा २४.८८ प्रतिशतले वृद्धि भएको छ । आयातको हिस्सा भने खस्किएको छ । यसवर्ष आयातको हिस्सा ९२.५२ प्रतिशत रहेको छ । गत वर्ष यस्तो हिस्सा ९४.०१ प्रतिशत रहेको थियो ।

७ महिनाको अवधिमा ७ खर्ब ३८ अर्ब ६३ करोड घाटा भएको छ । गत वर्ष यसै अवधिमा ७ खर्ब ८० अर्ब १८ करोडको घाटा थियो । यो वर्ष ५.३३ प्रतिशत ब्यापार घाटा कम भएको छ । नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा दुई छिमेकी मुलुक भारत र चीनमा निर्भर छ । त्यसमध्ये भारतमा नेपालको निर्यात बजारसमेत राम्रो छ । तर, चीनबाट भने आयातमात्र अधिक देखिएको छ ।

तथ्यांकअनुसार सात महिनामा भारतबाट ४ खर्ब ९६ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ४५ अर्ब ३९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । चीनबाट १ खर्ब ३२ अर्ब ६२ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने मात्र १ अर्ब ६ करोड ५१ लाख रुपैयाँ बराबरको भएको छ ।

निर्यात बजारमा सबैभन्दा राम्रो मुलुक अमेरिका हो । त्यहाँबाट १२ अर्ब ४७ करोडको सामान आयात हुँदा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात समेत भएको छ ।