काठमाडौं, फागुन १७
सरकारले केही दिन अघि देशको विकासका लागि रकम जोहो गर्न पूर्वाधार विकास कर वृद्धि गर्ने निर्णय गरेको थियो । सो कर वृद्धिलाई कतिपयले इन्धनमा कर वृद्धि गरेर भाउ बढाउन लागेको भनेर अपव्यख्या गरिदिएको भन्दै अर्थमन्त्रालयले रोष प्रकट गरेको छ । मन्त्रालय र नेपाल आयल निगमले पनि कर वृद्धिले इन्धनको भाउ नबढ्ने स्पष्ट पारेका छन् ।
सरकारले इन्धनमा अहिले लगाइरहेको पूर्वाधार विकास कर लिटरको ५ बाट १० रुपैया बनाउने निर्णय गरेकोमा त्यसले उपभोक्ता मूल्यमा असर नपर्ने अर्थ मन्त्रालयले जनाएको हो । नेपालमा पैठारी हुने हवाई इन्धन, पेट्रोल र डिजेलमा भन्सार विन्दुमा असुल गरिने पूर्वाधार विकास करको दरमा पुनरावलोकन गरिएको बताउँदै मन्त्रालयले अहिलेको दर पुनरावलोकन गर्दा नेपाल आयल निगमद्वारा समायोजित स्वचालित मूल्य प्रणाली, पेट्रोलियम इन्धन पैठारीको परिमाणात्मक अवस्था, भौतिक पूर्वाधार विकासका लागि स्रोत परिचालनको आवश्यकता समेतलाई ध्यानमा राख्दा हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने तथा निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्