जनता टाइम्स

१७ फाल्गुन २०७६, शनिबार १०:४१

जडिबुटी-कोटेश्वरको जाम घटाउन चार लेन थपिदै


काठमाडौं, फागुन १७

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले कोटेश्वरको जाम कम गराउन दीर्घकालिन र अल्पकालिन विकल्पमा काम शुरु गरिएको बताउनु भएको छ । एक सय दिनको प्रगति विवरण सार्वजनिक कार्यक्रममा उहाले जडिबुटि–कोटेश्वर जाम घटना दायाँबाया चार लेन थपिन लागेको जानकारी दिनुभयो । त्यसका लागि पर्यटन मन्त्रालयसँग समन्वय गरेर जग्गा प्राप्तीको काम सकिएको बताउनु भयो ।

अहिले जडिबुटि पुलसम्ममात्र सर्भिस लेन रहेकोमा अब त्यो कोटेश्वरसम्म जोडिने छ । यसैगरी दिर्घकालिन समधानका लागि फ्लाइ ओभर र अण्डर ग्राउण्ड सडक बनाउन जापान सरकारसँग कुराकानी भईरहेको मन्त्री नेम्वाङले जानकारी दिनुभयो । उहाका अनुसार यो आर्थिक वर्षको अन्त्यसम्म काम शुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाले काठमाडौंका सडक मर्मतको पछिल्लो जानकारी समेत दिनुभयो । मन्त्री नेम्वाङका अनुसार सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको छ । यसका साथै काठमाडौं उपत्यकाका करिब २७ किलोमिटर सडकमा कालोपत्रे गर्ने कामसमेत सम्पन्न भएको छ । यसलाई पनि मन्त्री नेम्वाङले गौरव गर्न लायक काम भनेर उल्लेख गर्नुभयो । यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकामा थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्री नेम्वाङले जानकारी दिनुभयो ।

यस्तै, १७ वटा चोकहरुमा ट्राफिक लाइट बालिएको, बल्खु, महालक्ष्मीस्थान र बानेश्वरमा आकाशे पुल निर्माण थालिएको, कलंकी–महाराजगञ्ज सडक बिस्तारको काम थालिएकोलगायतका विषयलाई प्रगति विवरणमा समेटिएको छ । मन्त्रालयका अनुसार १५ सय वटा रुग्ण आयोजनाको म्याद एक वर्ष विनासर्त थप गरिएको छ ।