जनता टाइम्स

२१ फाल्गुन २०७६, बुधबार १०:५३

थाइल्याण्डमाथी नेपालको महत्वपूर्ण जित


काठमाडौं, फागुन २१

एसीसी इस्टर्न रिजन टी–ट्वान्टी क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । एसिया कप खेल्ने आशा जिवितै राख्नका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले उच्च रनरेटसहित जित हासिल गरेको हो ।

थाइल्याण्डले दिएको ६७ रनको विजयी लक्ष्य नेपालले ५ ओभर २ बलमा भेट्टायो । नेपालका लागि ओपनर कुशल मल्लले विस्फोटक पारी गर्दै अविजित ३६ रन बनाए । उनले १८ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । यस्तै, तेस्रो नम्बरमा आएका पवन शर्राफले १० बलमा तीन छक्का र दुई चौकासहितअविजित २७ रन बनाए । दुवैले दोस्रो विकेटका लागि २४ बलमा ५८ रनको विस्फोटक साझेदारी गरेका थिए । यसअघि पारस खड्का ९ रनमा आउट भएका थिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन मात्रै बनाउन सक्यो । थाइल्याण्डका लागि सस्तोमा समेटने क्रममा करन केसीले ३ विकेट लिए । अविनास बोहोराले २, सन्दीप लामिछाने र भुवन कार्कीले समान १–१ विकेट लिए । तीन खेलाडी रन आउट भएका थिए ।

घरेलु टोली थाइल्याण्डका लागि हेन्नो जोर्डनले सर्वाधिक १३ रन बनाए भने विकेटकिपर फिरियापोङ सुअनचाई १२ रनमा अविजित रहे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । लगातार दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको हो । यस अघि नेपाल मलेसियासँग २२ रन र हङकङसँग ४३ रनले पराजित भएको थियो ।