काठमाडौं, फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पत्यारोपन गर्ने चिकित्सकहरुले प्रधानमन्त्री ओलीमा अत्यन्तै सरलपन र दृढ आत्मबिश्वास रहेको बताएका छन । देशको कार्यकारी प्रमुखको शल्यक्रिया गर्नुपर्दा सुरुमा केही दवाव महसुस भएपनि उहाँको ब्यवहारले आफूहरु दवावमा नपरेको बताएका हुन । ‘उहाँको सरलपनले हामीलाई प्रधामन्त्रीको उपचार गरिरहेका छौं जस्तो अनुभवनै भएन,’ प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपन टीमका एक सदस्य युरोलोजिस्ट तथा सर्जन डा. पवनराज चालिसेले भन्नुभयो ।
यस्तो छ चालिसेको अनुभुति
सुरुमा त प्रधामन्त्रीज्यूले प्रत्यारोपणका लागि हाम्रो अस्पताललाई रोज्नु भएको सुन्दा धेरै खुसी लाग्यो । यसअघि पनि शिक्षण अस्पतालमा सयौँको मिर्गौला सफल प्रत्यारोपण गरिसकेकाले मेडिकल हिसाबले हामी त्यति धेरै आत्तिएका थिएनौं । हामीसँग प्रत्यारोपणका लागि एउटा बलियो टिम छ, जसले गर्दा हामी आत्तिएका थिएनौं । तर सरकार प्रमुखका रुपमा सबैको ध्यान जाने भएकाले अलिक दबाब जस्तो महुसस भएको थियो । तर, प्रधामन्त्रीज्यूको हामीप्रतिको विश्वास देखेर हामी ढुक्क थियौं ।
सोमबार भर्ना हुनुभएका उहाँको सुरुमा सम्पूर्ण ‘इन्भेस्टिगेशन’ सबै गर्यौं । इन्भेस्टिगेशनमा उहाँलाई दाताले दिन लाग्नुभएको मिर्गौला उहाँमा प्रत्यारोपण गर्न मिल्ने र उहाँ स्वास्थ्य अवस्था पनि प्रत्यारोपण गर्न मिल्ने देखियो । अपरेशन गर्ने दिन अन्य दिन भन्दा चाँडै हामी अस्पताल पुगेका थियौं । सुरुमा बाहिरको माहोल हेर्दा हामीले देशको प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न लागेको महसुस भएको थियो । तर अप्रेशन रुममा लगेर प्रत्यारोपण सुरु गरेपछि हामीलाई त्यस्तो अनुभव भएन ।
हाम्रो टिम र हामीले यसअघि गरेको सफल प्रत्यारोपणको दरले हामी उहाँको प्रत्यारोणमा पनि सफल हुने आशावादी थियौं । उहाँको प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपणपछि पनि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै आएको छ । उहाँको सरलपनले हामीलाई अहिले प्रधामन्त्रीको उपचार गरिरहेका छौं जस्तो अनुभवनै भएको छैन ।
प्रतिक्रिया दिनुहोस्