जनता टाइम्स

१ चैत्र २०७६, शनिबार १८:१२

मनाङ मस्र्यांदीले चुम्यो आहा रारा गोल्डकपको उपाधी


पोखरा, चैत १ । १८औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्यांदी क्लबले जितेको छ । मोफसलको दोस्रो उपाधि जित्ने क्रममा मनाङले आज भएको खेलमा टाइब्रेकरमा नेपाल पुलिस क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

पोखरा रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको हो । पेनाल्टीमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गरे भने निशान लिम्बुको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले बचाएका थिए ।

यस्तै, पुलिसका भोला सिलवाल, हेम तामाङ, बुद्ध बल तामाङ, गोलमा परिणत हुँदा अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका किपर अशोक बरालले बचाए । पुलिस क्वाटरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्रीस्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा पुगेको थियो ।

यस्तै मनाङले क्वाटरफाइनलमा झापामाथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । योसँगै मनाङ आहा रारा गोल्डकप छैटौं पटक उपाधि चुम्न सफल भएको छ । विजेता मनाङले १० लाख एक हजार रुपैयाँ तथा उपविजेता पुलिसले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।