जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार २०:१७

श्रममन्त्री गोकर्ण बिष्टको एक्शन, चिया बगानमै पुगेर समाधान गरे मजदुरको समस्या


इलाम, जेठ ३

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट चिया श्रमिकको समस्या सल्टाउन चिया बगानमै पुग्नुभएको छ । तोकिएबमोजिमको ज्याला तत्काल लागू गर्न श्रममन्त्री विष्ट आफै मजदुर भेटन बगान पुग्नुभएको हो ।

मन्त्री बिष्टले उद्योगीलाई निर्देशन दिएपछि चिया श्रमिक काममा फर्किन सहमतसमेत भएका छन् । आज इलामस्थित कन्याम चिया बगानमा चिया श्रमिकसँग कुरा गर्दै उहाँले कानूनले तोकबमोजिमको ज्याला उपलब्ध गराउने बताउनु भएपछि श्रमिकहरू काममा फर्किने भएका हुन् ।

चिया श्रमिकको समस्या बुझ्न यहाँ आइपुग्नुभएका मन्त्री विष्टले कानूनभन्दा माथि कोही नभएकाले जसरी पनि श्रमिकले नयाँ श्रम ऐनअनुसार ज्याला पाउनुपर्ने र ज्याला दिलाउने प्रतिवद्धता जनाउनु भयो । त्यसलगत्तै चिया श्रमिक काममा निस्किने भएका हुन् । मन्त्री विष्टले चिया उद्योगीलाई तोकिएको ज्याला दिन नसक्नाको कारण २४ घण्टाभित्र जानकारी उपलब्ध गराउन एक साताअघि निर्देशन दिनुभएको थियो । त्यसपछि इलाम तथा झापाका सरकारी तथा निजी बगानमा श्रमिक र उद्योगीबीच सहमति भएर श्रमिक काममा निस्किए पनि इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिक भने आन्दोलनमै थिए ।

सांघाई ग्रुपले भाडामा लिएका ती बगानमा श्रमिकले तोकिएको समयसम्म काम नगर्नाले ज्याला दिन नसकिने उद्योगीहरूले बताएकाले उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका थिए । तर मन्त्री विष्टको भ्रमणपछिसबै चिया बगान खुल्ने भएका हुन् । चिया श्रमिक तथा अखिल नेपाल चिया मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीका अनुसार सबै श्रमिक भोलिदेखि काममा निस्किने भएका छन् ।

‘मन्त्री विष्टले तोकिएबमोजिमको ज्याला अवश्य पाउनुहुन्छ तपाईंहरूको आन्तरिक समस्या पछि मिलाउनु होला भन्नुभएकाले काममा फर्किने भएका हौं,’ रेग्मीले भन्नुभयो । सरकारले गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला ३८५ रुपैया तोके पनि श्रमिकले २ सय ६५ देखि ३ सय ८ रुपैयासम्म मात्र पाउँदै आएका थिए । उद्योगमा काम गर्ने श्रमिकलाई चाहिँ दैनिक ४२ थपेर ४२७ रुपैया ज्याला तोकिएको छ ।

राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला ६ हजार ४ सय ६९ र महङ्गी भत्ता चार हजार ३ सय ८१ तोकिएको छ तर यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन ।