जनता टाइम्स

४ जेष्ठ २०७६, शनिबार ०६:५१

तिलौराकोट अवलोकनपछि विकासका लागि प्रधानमन्त्री ओलीबाट आयो यस्तो अठोट


बुटवल, जेठ ४

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताउनुभयो ।

उहाँले तिलौराकोटको अवलोकनपश्चात् पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै यस क्षेत्रको विकासका लागि सङ्घीय सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले तिलौराकोट क्षेत्रको अवलोकनका अवसरमा तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासको ढोका खुलेकोसमेत बताउनुभयो ।

प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी झ्रमण वर्ष २०७६ कार्यक्रम र २५६३औँ बुद्धजन्ती कार्यक्रममा आउनुभएका प्रधानमन्त्री ओली सोही क्रममा तिलौराकोटको अवलोकन गर्नुभएको हो । प्रधानमन्त्रीका साथमा प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शङ्कर पोखरेल, कृषि तथा पशुपक्षी विकासमन्क्री चत्रपाणी खनाल, नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि, उत्खनन, अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओली तिलौराकोट क्षेत्रमा पश्चिम गेटबाट पैदल हिँडेर प्राचीन ऐतिहासिक संरचनाको अवलोकन र जानकारी लिनुभएको थियो । तिलौराकोटमा विगत छ वर्षदेखि बेलायतको दुहार्म विश्वविद्यालय र पुरातत्व विभागले संयुक्तरुपमा उत्खनन, अनुसन्धान गरिरहेको छ । तिलौराकोट विश्वसम्पदा सूचीका लागि प्रस्तावित स्थलसमेत हो ।