जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १५:४३

कोरोनाको सम्भावित संक्रमण रोक्न सरकारले गर्यो थप तयारी : अव ‘एप’मार्फत सीमा नाकामा निगरानी


काठमाडौं, चैत ८ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तप तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै सम्भावित संक्रमण रोक्न सरकारले सबै किसिमको तयारी अघि बढाएको घोषणा गरेलगत्तै भारततर्फको सीमा नाकामा कडाई थालिएको छ ।

फिल्डमा खटिनेका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित अग्रभागमा स्वास्थ्यकर्मी, सेल्फ क्वारेन्टाइन र लकडाउन कार्यान्वयन गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी ‘ब्याक सपोर्ट’ का रूपमा खटिने गरी सरकारले तयारी अघि बढाएको छ । नेपाल–भारत सीमा नाका हुँदै आवतजावत गर्नेको भरपर्दो र प्रभावकारी स्वास्थ्य जाँचमा विशेष ध्यान दिइनेछ ।

बिहीबार नेपाली सेनाले कोभिड–१९ विरुद्धको तयारीका लागि होम सेल्टर र लकडाउनको तयारी गर्नुपर्ने सुझाव दिएको थियो । त्यसमा अन्य सुरक्षा निकायले पनि सहमति जनाएका छन । यसलाई गृहमन्त्री अध्यक्ष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तिम रूप दिएर कार्यान्वयनका लागि तयारी हालतमा राख्नेछ । त्यसअघि सेनाले मंगलबार र बुधबार जंगी अड्डा परिसरमै कोभिड–१९ विरुद्ध प्रतिकार्य योजनाअन्तर्गत पूर्वाभ्यास गरेको थियो । प्रहरी र सशस्त्रले पनि आफ्ना स्वास्थ्यकर्मी र फौजलाई आन्तरिक प्रशिक्षण दिनुका साथै आवश्यक परे कसरी फिल्डमा खटिने भनेर रिहर्सल भइरहेको जनाएको छ ।

लकडाउन भएको अवस्थामा फिल्डमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि थप १० हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) खरिद प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ । नेपालभित्र नपाइने उपकरण विदेशबाट खरिद गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइसकिएको गृह मन्त्रालयका अधिकारीले स्पष्ट पारे । ‘अहिलेकै अवस्थामा लकडाउन गर्नुपर्ने स्थिति छैन तर त्यसको तयारी गरिरहेका छौं,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलले भन्नुभयो, ‘संक्रमण भित्रिन नदिन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई हाई अलर्टमा राखिएको छ ।’

पोखरेलका अनुसार लकडाउन भए सरकारी वा अधिकारप्राप्त व्यक्तिको अनुमतिबिना कोही पनि सडकमा निस्कन पाउने छैनन । ‘कर्फ्युका बेला जसरी सुरक्षा व्यवस्थापन गरिएको हुन्छ, त्यही रूपमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सम्बन्धित स्थानमा तैनाथ हुनेछन,’ उहाँले भन्नुभयो, ‘यसमा आमनागरिकको पनि साथ र सहयोग चाहिन्छ ।’

‘एप’ माफृत नाका निगरानी

नेपाली सेनाले नाकाका गतिविधि निगरानी गर्न आन्तरिक रूपमा ‘एप’ निर्माण गर्ने भएको छ । नेपाल–भारतका ४१ सीमानाकामा आउजाउ गर्नेहरूको अवस्थालाई निगरानी गर्न एप बनाउन लागिएको हो । सेनाले अहिले ती सबै नाकामा आफ्ना स्वास्थ्यकर्मी खटाएर काम गरिरहेको छ । सेनामा हाल करिब २ हजार ३ सय स्वास्थ्यकर्मी छन । आजबाट नेपाल भारत सीमा नाकामा थप कडाई गरिएको छ ।

‘नाकाबाट कस्तो व्यक्ति कसरी आएदेखि कता जान्छन् भन्नेसम्मको सूचना राख्ने र त्यसलाई केन्द्रबाट पनि अनुगमन गर्न सक्ने व्यवस्था मिलाइएको छ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भन्नुभयो, ‘एपले दैनिक कामको डाटा ट्रेस गर्छ र त्यसलाई गुगल डकमार्फत हेर्न सकिन्छ ।’ उक्त एप केही दिनमै तयार हुने पाण्डेले जानकारी दिनुभयो । यसैबीच सरकारले कोभिड–१९ रोकथामका लागि आवश्यक सामग्री खरिद र पूर्वतयारी गर्न सरकारले सेनालाई १० करोड रुपैयाँ दिएको छ ।

सेनाले व्यवस्थापन तथा युद्ध कार्य महानिर्देशनालयको नेतृत्वमा ‘विपद् व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याइसकेको छ । महानिर्देशनालयले सैनिक मुख्यालयदेखि विभाग, निर्देशनालय, पृतना, गण, गुल्मसहित जिल्लास्तरका युनिटमा समेत तयारीमा रहन निर्देशन दिइसकेको छ । महानिर्देशनालयले चीनबाट मगाउनुपर्ने सामग्रीको सूची तयार पारिरहेको छ ।

सैनिक प्रवक्ता पाण्डेका अनुसार तीन हजार पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) युनिटलाई वितरण गरिएको छ । जिल्लास्तरमा समेत सेनाले विभिन्न ठाउँमा आइसोलेसन वार्ड तयार गरिसकेको छ । ‘अहिले प्रारम्भिक चरणकै काम गरिरहेका छौं, आवश्यक पर्दा ९६ हजार सैनिक जुनसुकै बेला पनि खटिन तयार छन,’ पाण्डेले भन्नुभयो ।