जनता टाइम्स

९ चैत्र २०७६, आईतवार १५:२७

कोरोना भाइरसको संक्रमणबाट जोगिन कस्तो छ बागमति प्रदेशका गाउँपालिकाहरुको तयारी ?


निता राउत/काठमाडौं । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न बागमति प्रदेशका सवैजसो गाउँपालिकाहरुले जनचेतनमुलक कार्यक्रमसहित सचेतना अभियान अघि बढाएका छन । कोरोना भाइरस संक्रमणको जोखिमतालाई मध्यनजर गर्दै संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको हो ।

सिन्धुली जिल्ला तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाका अनुसार कोरोनाको त्राससँगै गाउँ फर्किएका प्रत्येक व्यक्तिहरुको बसपाक साथ विभिन्न स्थानमा इन्फारेट थर्मामिटरमार्फत तापक्रम परीक्षण गर्न थालिएको र कोरोनाबाट बच्न विभिन्न जनचेतनामुलक जानकारी दिने काम अघि बढाइएको छ । थापाले विभिन्न स्थानमा हेल्प डेस्क सञ्चालन, तापक्रम परीक्षणका साथै कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायको बारेमा समेत सवैलाई जानकारी दिने क्रम अघि बढाइएको बताउनु भयो ।

रामेछापको सुनापति गाउँपालिकाले पनि गाउँपालिका कार्यालय तथा सबै वडामा सेवा लिन आउने जोकोहिलाई साबुन पानीले हात धुन लगाएर मात्र प्रवेश गराउने गरेको अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार सो गाउपालिकाले विभिन्न स्थानमा होर्डिङ बोर्ड, साबुन पानी, प्रत्येक वडामा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ भने हेल्प डेस्क पनि सञ्चालन गरेको छ ।

वागमति प्रदेशका प्रायः सबै गाउँपालिकाहरुले गाँउपालिकाभर साबुन पानीले हात धुदै कोरोनाबारे सचेतना अभियान अघि बढाएको छ । कोरोनाबारे सुचनामुलक सन्देश दिनको लागि सार्वजनिक स्थलमा होर्डिङ्ग बोर्ड राख्ने, पम्प्लेट टास्ने, बाँड्ने, विभिन्न सञ्चारमाध्यममार्फत सूचना प्रवाह गरी सवैतिर कोरोना भाइरसबाट जोगिने बिषयमा सचेत हुन अनुरोध गरिएको छ । संघीय सरकारले गरेको निर्णयअनुसार २५ जना भन्दा बढी एकै ठाउमा छलफल नगर्ने, सभा, सम्मेलन नगर्ने कुराहरुलाई पनि कडाईका साथ लागू गर्न गाउँपालिकाहरुले अभियान चलाएका छन ।

हेलम्बु गाउँपालिकाले बजारमा मास्कको अभाव भएपछि आफैले बनाएरु निशुल्क बितरण गरेको छ । कोरोनाबारे जनचेतनासहित गाउँपालिकाले आफ्ना नागरिकलाई मास्क बितरण गरेको हो । सो गाउँपालिकाले पालिक छिर्ने स्थानमा हेल्प डेस्क राखेर ज्वोरो नाप्ने गरेको छ । सो परीक्षणमा कसैको ज्वोरो उच्च पाइएमा बिस्तृत बिवरण लिएर उपचार गर्नुका साथै पछि ठिक भयो कि भएन भन्दै फलोअप गर्ने गरिएको पालिका अध्यक्ष निमा ग्यल्जेन शेर्पाले जानकारी दिनुभयो ।