जनता टाइम्स

१० चैत्र २०७६, सोमबार ०९:१२

संकटमा छिमेकी मुलुकमा राजदूत चाहिने भन्दै संसदीय सुनुवाई समितिले डाक्यो बैठक


काठमाडौँ, चैत १०

चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सुनुवाई सोमबारदेखि सुरु हुँदैछ । कोरोना भाइरसको संक्रमण फैलिन नदिएको नेपालले छिमेकी मुलुक चिनको सहयोग अपरिहार्य भएको भन्दै त्यहा राजदूत पठाउने तयारी गरेको हो ।

सरकारले २५ जना भन्दा धेरै जम्मा नहुन आग्रह गरेपनि संक्रमणकालिन अवस्थामा छिमेकी मुलुकमा राजदूत चाहिने भएकाले सुनुवाई समितिको बैठक बोलाइएको बताइएको छ । चीनमा हाल राजदूत नरहेको र तत्कालीन राजदूत लिलामणि पौडेल पनि स्वदेश फिर्ता भएको तथा चीनसँग कोरोना भाइरसविरुद्धको सहयोगका लागि समन्वय गर्नु पर्ने भएकाले प्रस्तावित राजदूतको सुनुवाई गर्नका लागि समितिको बैठक बोलाउने निर्णय भएको समितिका सचिव एवम् संघीय संसदका कार्यबाहक महासचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।

सरकारले लिलामणि पौडेललाई फिर्ता बोलाएर पूर्व परराष्ट्रमन्त्री समेत रहेका पाण्डेलाई चीनका लागि राजदूत बनाउन भन्दै संसदीय समितिमा नाम सिफारिस गरेको छ । पाण्डे विरुद्ध केही उजुरी भए दिन भन्दै समितिले १० दिनको समय दिएको थियो । सार्वजनिक उजुरीका लागि दिइएको १० दिनको समयमा उनीविरुद्ध कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ ।