जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १८:३२

कोरोना राहत कोषमा सांसद दिब्यमणि राजभण्डारीको ५ लाख सहयोग


काठमाडौं, चैत १० । प्रतिनिधिसभाका सांसद दिब्यमणि राजभण्डारीले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा ब्यक्तिगत रुपमा ५ लाख जम्मा गर्ने घोषणा गर्नुभएको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले कोरोना कोष स्थापना गर्ने निर्णय गरेलगत्तै सांसद राजभण्डारीले सो घोषणा गर्नुभएको हो ।

विश्वव्यापी महामारी बनेको कोरोना प्रकोपको रोकथाम र जोखिम न्यूनीकरणमा सिंगो मुलुक केन्द्रित भएका बेला सरकारको पहललाई साथ दिन पाँच लाख रूपैयाँ प्रदान गर्ने निर्णय सांसद राजभण्डारीले गर्नुभएको हो । नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी आफ्नो नितान्त व्यक्तिगत तवरवाट सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख रुपैयाँ प्रदान गर्न लागेको सांसद राजभण्डारीले जनताटाइम्सलाई बताउनु भयो । उहाँले धनी, गरिव, जात, थर, धर्म या पार्टी नभनी एक भइ महामारीसंग जुध्न र सवैलाइ दिल खोलेर आफूले सकेको सहयोग गर्न पनि अपिल गर्नुभयो ।

स्थायी घर दोलखा भएका सांसद राजभण्डारीले आज बिहानै कोरोनाबिरुद्धको अभियानको नेतृत्व गर्नुभएका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई फोन गरी रकम जम्मा गर्ने बिषयमा जानकारी गराउनु भएको थियो । उपप्रम पोखरेलले तत्कालै खाता खोल्ने जानकारी दिई बैंक खातामै जम्मा गरिदिन सुझाउनु भएको थियो ।

कांग्रेस नेतासमेत रहनुभएका सांसद राजभण्डारीले चीनमा कोरोनाको संक्रमण सुरु भएलगत्तैबाट सरकारलाई कडा कदम चाल्न सुझाव दिँदै आउनुभएको थियो । उहाँले पछिल्लो समय चीन, इटालीसहित युरोपियन मुलुक तथा अमेरिका रखाडी मुलुकबाट नेपाल आएका सवैको अवस्था पहिचान गरी क्वारेन्टाइनमा राख्न समेतसुझाव दिनुभएको छ ।