जनता टाइम्स

१० चैत्र २०७६, सोमबार १८:५५

प्रहरी र पत्रकार नै लुटपाटको धन्दामा लागेपछि…


मकवानपुर, चैत १० । कोरोनाबिरुद्धको अभियानमा सिंगो मुलुक एकजुट भएको बेला केहीप्रहरी अधिकृत र पत्रकार भने लुटपाटको भन्दामा लागेको तथ्य बाहिर आएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हीरा लुटपाटमा संलग्न तीन प्रहरी र एकजना पत्रकारलाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत विरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य तीन जना प्रहरी हुन् ।

मकवानपुर कैलाश गाउँपालिका–५, चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हीरा लुटपाट गरेका थिए । लुटपाटको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका पहरी र पत्रकारलाई आज सार्वजनिक गरिएको छ ।

पक्राउ परेका प्रहरी महानगरीय प्रहरी आयुक्त कार्यालयबाट सूचना संकलनका लागि खटाइएको टोलीका सदस्य हुन ।प्रहरीले उनीहरूको साथबाट हीरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चार सेट ४ थान, क्यामेरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ ।

प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कार समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरू चोरी तथा डाका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।