जनता टाइम्स

११ चैत्र २०७६, मंगलवार १२:२४

कोरोनाबारे भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु पक्राउ


पोखरा, चैत ११

कोरोना भाइरससम्बन्धी भ्रम फैलाउने क्रिस्चियन धर्मगुरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै भ्रम फैलाउने धर्मगरु केशवराज आचार्यलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

पोखरा महानगर–२९ पावर हाउस बस्ने आचार्यलाई सोमबार साँझ कास्की प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । पास्टरले यशुको नाममा चर्चमा सोझासाझा नागरिकलाई जम्मा पारेर कोरोना भाइरस नष्ट पारिदिने भन्दै भ्रम फैलाएको, यस्तो कार्यबाट जनतामा कोरोना भाइरलबारे भ्रम पैदा हुने र रोकथाममा अवरोध समेत पुग्न सक्ने हुँदा अफवाह फैलाएको कसुर अपराधमा पास्टरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दान बहादुर कार्कीले बताउनु भयो ।

यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए । उनको प्रवचनको भिडियो समेत भाइरलै भएको थियो । पोखराको तालचोकमा स्थानीयलाई जम्मा पारेर प्रभु यशुका अनुयायीलाई कोरोराले छुनै सक्दैन भन्दै आचार्यले प्रवचन दिएका थिए । प्रशस्त कटनी मण्डली पोखरा २९ का पास्चर आचार्यको स्थायी ठेगाना भने जुम्ला रहेको छ ।