जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार ०९:५९

झापा प्रहरीले भन्यो : विदेशबाट आएकाको सूचना दिनुहोस्


भद्रपुर, चैत १२

जिल्ला प्रहरी कार्यालय झापाले विगत १५ दिनभित्र विदेशबाट आएकाबारेमा सूचना दिन अपिल गरेको छ । विदेशबाट आएकाहरु विशेषगरी कोरोना संक्रमणको उच्च जोखिममा रहेको हुनाले उनिहरुका बारेमा जानकारी दिन भएको हो ।

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले नजिकको प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई सूचना दिन अनुरोध गर्नुभयो । आफ्नै घरमा एकान्तवासमा बसिरहेकाहरुको अवस्थाबारे जानकारी लिन प्रहरीलाई सहयोग गर्नुहुन उहाले अनुरोध गर्नुभयो । कोइरालाले कतिपयलाई विषयको गम्भीरता बुझाउन जरुरी रहेको बताउँदै आ–आफ्नो स्थानबाट योगदान गर्न भन्नुभयो ।

यसैबीच, कारोना संक्रमण आशंकामा झापामा एक जनालाई आइसोलेसनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, झापाका अनुसार भद्रपुर नगरपालिकाका ती व्यक्तिको मेची अञ्चल अस्पतालको क्वारेन्टाइनमा राखिएका हुन् । कार्यालयका अनुसार जम्मा २६ जना क्वारेन्टाइनमा राखिएका छन् ।

तीमध्ये मेचीनगर नगरपालिका मात्र २१ जना छन् । यो नगर नेपाल–भारत सीमा क्षेत्रमा पर्छ । जिल्ला भर ७७ जना होम क्वारेन्टाइनमा छन् भने ३ सय २१ वटा क्वारेन्टाइन बेड छन् ।