जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १३:१८

सच्चा जनप्रतिनिधि, जस्ले दिए न्यूरोडकै घरमा दुई महिनाको भाडा छुट


काठमाडौं, चैत १२ । जब आपत्त विपत्त पर्छ, तब मानव र मानवताको पहिचान हुन्छ । यस्तै, जनताले सच्चा आफ्ना जनप्रतिनिधि चिन्ने बेला पनि यही हो किनकि, यतिखेर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सन्त्रासले आतंकित बनाएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै किसिमका उपाय अपनाउँदै मंगलबारबाट देश ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । यससँगै सबै किसिमका व्यापार व्यवसायी, कलकारखाना ठप्प छ । जसले गर्दा घर वहाल कसरी तिर्ने भन्ने चिन्ता त छ भने अर्काेतिर बैंकबाट लिएको ऋणको व्याज पनि थपिएको छ । यस्तो अवस्थामा घरभेटीले एक महिनाको मात्र घर वहाल मिनाहा गरिदिए पनि ठूलो राहत हुन्छ ।

तर, यस्ता मनकारी घरभेटी पाउनलाई निकै गाह्रो छ । जोसँग मानवता छ, उसले मात्र अहिलेको समस्या बुझ्न सक्छ । ती थोरै मनकारी घरभेटीको उदाहरणका रुपमा देखिनुभएको छ सांसद दिव्यमणि राजभण्डारी । दोलखाका स्थायी निवासी नेपाली कांग्रेसका सांसदसमेत रहनुभएका राजभण्डारीले काठमाडौंको न्युरोडस्थित दोलखा छेँमा अवस्थित आफ्नो घरमा बस्ने व्यापारीहरुलाई दुई महिनाको घर वहाल नलिने घोषणा गर्नुभएको छ ।

सांसद राजभण्डारीको यस्तो घोषणाले उहाँको घरमा बस्दै आएका बस्दै आएका साना तथा मझौला व्यापारीहरुलाई ठूलो राहतको महशुस गरेका छन् । उनीहरुले सामुहिकरुपमा आफूहरुलाई घर वहाल मिनाहा गरिदिने आफ्नो घरभेटी तथा जनप्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् । उनीहरुले ‘नेता चिन्नु र चिन्नुपर्ने आपत्त विपतमै हो’ भन्दै मनकारी जनप्रतिनिधि एवं घरभेटीप्रति आभार व्यक्त गरेका हुन ।