जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार १८:४८

सचेतनाले नै कोरोनाविरुद्ध जित्न सकिन्छ – मुख्यमन्त्री पोखरेल


बुटवल, चैत १२

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले नागरिक सचेतनाले नै कोरोना विरुद्धको लडाइँ जित्न सकिने बताउनुभएको छ । उहाँले महामारीसँग जुध्न सबैले आफ्ना व्यवहार, आनीबानी र दैनिकीमा परिवर्तन गर्न जरूरी रहेको बताउँदै कोरोना विरुद्धको लडाइँ जित्न सरकारले गरेका निर्णयलाई पूर्णरुपमा पालना गर्न र अरुलाई पनि पालना गर्न प्रेरित गर्न प्रदेशवाशी जनतामा अनुरोध गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले प्रदेशवाशी जनताका नाममा आज सम्बोधन गर्नुहुँदै कोरोनाको सङ्क्रमण रोक्न अपनाइएका महत्वपुर्ण कदमलगायत यसको रोकथामका लागि प्रदेश सरकारका तर्फबाट कोरोनाको सम्भावित जोखिमबाट बच्न पूर्व तयारीको कामलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले सङ्क्रमण भित्रिन नदिन, सचेतना जगाउन, क्वारेन्टाइनको प्रबन्ध मिलाउन र सङ्क्रमितको उपचारको व्यवस्थाका लागि तीनै तहका सरकार आपसी समन्वय र सहकार्यमा क्रियाशिल रहेका बताउँदै सरकारले सम्भावित जोखिमलाई नियन्त्रण गर्न लिएका निर्णयको पूर्ण कार्यान्वयनका लागि सबैको सार्थक सहयोगको आवश्यकता औल्याउनुभयो ।

मुख्यमन्त्री पोखरेलले कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले नागरिकलाई महामारीबाट बचाउन मङ्गलबारदेखि घोषणा गरेको ‘लकडाउन’को आदेश सबैले अनिवार्य रुपमा पालना गर्न अपिल समेत गर्नुभएको छ । उहाँले उक्त आदेश पालना नगरे उल्लङ्घन गर्नेलाई सुरक्षा निकायले कारवाही अघि बढाउनेसमेत स्पष्ट पार्नुभयो ।

उहाँले कोरोनाको सङ्क्रमण नियन्त्रणका प्रमुख उपाय शहरी आवास क्षेत्रका टोल विकास संस्थाले स्थानीय सुरक्षा निकायको सहयोगमा टोलभन्दा बाहिरका व्यक्तिलाई प्रवेशमा रोक लगाउने र टोलका बासिन्दा पनि बाहिर नजाने व्यवस्था गर्न अपिल गर्नुभएको छ । टोलमा खाद्यान्न र तरकारी टोलकै पसलमा व्यवस्थापन गर्न, कोरोना भाइरसबाट जोगिन सामाजिक र व्यक्तिगत दूरीलाई निरन्तर कायम राख्ने र अत्यावश्यक कामका लागि बाहिर जानु नै परेमा स्थानीय सुरक्षा निकायको अनुमति लिएर मात्र जान उहाँले अनुरोध गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले कोरोनाको जोखिमलाई ख्याल गर्दै प्रदेश सरकारले बुटवल, भैरहवा, दाङको बेलझण्डी र बाँकेको खजुरामा गरेर चार वटा कोरोना विशेष अस्पतालको निर्माण प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुहुदै कोरोना सङ्क्रमितकोे आशङ्कामा रहेका नागरिकलाई राख्न प्रत्येक स्थानीय तहले तत्काल २५ शै्ययाको क्वारेन्टाइन बनाउने र क्वारेन्टाइनमा राखिएकाको सम्पुर्ण व्यवस्थापन गर्ने ब्यवस्था गरिएको बताउनुभयो ।

उहाँले नागरिकका लागि अत्यावश्यक स्वास्थ्य सेवा तथा औषधी पसल, खाद्यान्न, खाद्यजन्य सामाग्री, तरकारीको ढुवानी र बेचबिखन, दुधको ढुवानी र डेरी उद्योग, खानेपानी सेवा, फोहरमैला सङ्कलन र व्यवस्थापन, विद्युत् एवं सञ्चार सेवालगायत सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइएको तर, उक्त सेवामा संलग्न व्यक्तिले स्वास्थ्य सुरक्षा अनिवार्य रुपमा पालना गर्नसमेत अनुरोध गर्नुभएको छ ।