जनता टाइम्स

१२ चैत्र २०७६, बुधबार २०:४०

चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नुनपर्ने (निर्णयसहित)


काठमाडौँ, चैत १२

कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थमन्त्रीको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो ।

‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकाले कोरोना प्रभावित व्यवसायहरुको सावा ब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्ने,’ निर्देशनमा भनिएको छ । कुन कुन व्यवाय तथा क्षेत्र कोरोना प्रभावित भन्ने खुलाइएको छैन । सो अवधिमा प्रवाह भएको कर्जाको बर्गीकरण तथा नउठेको खराब कर्जा बापत गर्नुपर्ने व्यवस्था पनि स्थगनको व्यवस्था मिलाउन अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

यसैगरी समितिको बैठकले बैंकको काउन्टरमा आउने ग्राहकलाई वितरण गर्ने नोटलाई संक्रमण रहित बनाएर मात्र वितरण गर्न पनि आग्रह गरेको छ । कोरोना संक्रमणका लागि विदेशबाट आयात गरिने औषधिको भुक्तानी सहज बनाउन टीटीको माध्यमबाट आयात गर्दा विदेशी विनिमयको सीमा लागू नहुने व्यवस्था गर्न पनि राष्ट्र बैंकलाई निर्देशन गरिएको छ ।