जनता टाइम्स

१३ चैत्र २०७६, बिहीबार २१:१४

पोखरा र लुक्लाबाट पर्यटकको उद्धार


काठमाडौं, चैत १३

लकडाउनका कारण पोखरामा अलपत्र परेका फ्रान्सेली पर्यटकलाई उद्दार गरिएको छ । बिहीबार अपरान्ह बुद्ध एयरको जहाजले उनीहरुलाई काठमाडौं ल्याएको हो । नेपालस्थित फ्रान्सेली दूतावासले उनीहरुलाई काठमाडौं ल्याउन जहाज चार्टर गरेको थियो । उनीहरुलाई काठमाडौंको होटलमा राखिनेछ । फ्रान्सबाट आउने चार्टर विमानले उनीहरुलाई फिर्ता लैजानेछ ।

यसैबीच, लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका १९ पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपाल ‘लग डाउन’ भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकको आज उद्धार गरी काठमाडौ ल्याइएको छ । आज उद्धार गरिएका मध्ये एक नेपाली र १८ विदेशी रहेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १४ फ्रान्सेली पर्यटक तारा एयरबाट काठमाडौँ गएका छन् भने डाइनेस्टिक एयरको हेलिकप्टरमार्फत दुई र सिम्रीक एयरको हेलिकप्टरमार्फत तीन जनाको उद्धार गरिएको हो । मङ्गलबार र बुधबार दुई दिनमा १० बिरामी पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो । अहिले पनि लुक्लामा करिब १५० को हाराहारीमा पर्यटक रहेको अनुमान गरिएको छ ।