जनता टाइम्स

१४ चैत्र २०७६, शुक्रबार १५:४५

लकडाउनमा ताजा तरकारी पाइएन : मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ


रमेश लम्साल / काठमाडौं ।

सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान उपलब्ध भए पनि नदिने र बढी मूल्य लिएर बिक्रीसमेत गरेका छन् । यद्यपि सरकारले त्यस्ता व्यापारीलाई कारवाहीसमेत गरिरहेको छ । संसार नै कोरोनाको महामारीसँग जुधिरहेका बेला सबै व्यापारी उस्तै छैनन् । उनीहरुले व्यापारसँगै नागरिकलाई सेवासमेत उपलब्ध गराएका छन् ।

उनीहरुले नागरिकलाई सहज रुपमा तरकारी तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने आफ्नै संयन्त्रसमेत तयार पारेका छन् । ती मनकारी व्यक्ति हुन् कानून कोइराला । कोइरालाको काठमाडौँ पेप्सीकोलामा मनोहरा कृषि बजार छ । लकडाउनको समयमा दैनिक ताजा तरकारी खान नपाएको गुनासो आएपछि कोइरालाले नयाँ उपाय निकाल्नुभएको छ । उहाँले काठमाडौँ उपत्यकाभित्र सहज रुपमा हरिया, ताजा तरकारी लिन चाहने उपभोक्तालाई चोक चोकमा आफ्नै सवारी साधनमार्फत तरकारी उपलब्ध गराउने योजना बनाउनुभएको छ ।

कानून कोइरालाले शुरु गर्न लाग्नुभएको सो अभियानको आज सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । रासससँगको सम्पर्कमा आउनुभएका कोइरालाले भन्नुभयो, “लकडाउनको समयमा उपभोक्ताले सहज मूल्यमा ताजा तकारी पाउन् भन्ने ध्येयका साथ मोबाइल भ्यानमार्फत तरकारी उपलब्ध गराउन लागेका छौं ।” उहाँले उपत्यकाभित्र जुन स्थानमा तरकारी आवश्यक परेको छ, सम्पर्क गर्न फोन नम्बरसमेत दिनुभएको छ । उहाँले ९८४३६६१९९० नम्बरमा फोन गरेर तरकारीको माग गर्न सक्ने जानकारीसमेत दिनुभयो ।

कृषकले सहज रुपमा आफ्नो उत्पादन बिक्री गर्न सकुन्, उपभोक्ताले पनि लकडाउनको समयमा बढी मूल्य तिर्नु नपरोस् र व्यवसायीले पनि व्यवसाय गर्न पाउन् भन्ने ध्येयका साथ तरकारी बिक्रीको मोडालिटी बनाएको कोइरालाले राससलाई जानकारी दिनुभयो । भन्नुभयो, “लकडाउनको बेलामा नाफा कमाउनेतर्फ मात्रै हेर्नुभएन । नागरिकलाई केही राहतसमेत दिनुपर्छ । संसार नै महामारीसँग जुधिरहेका बेला जसले जे जस्तो योगदान गर्न सक्छौँ गरौँ ।”

उहाँले एउटा चोकमा तरकारी माग भएको खण्डमा एक हजार किलोग्रामसँग तरकारी बेच्ने लक्ष्य राख्नुभएको छ । “ माग आओस्, हामी सहज रुपमा परल मूल्यमा नै तरकारी दिने गरी तयारी गरिएको छ । हामी हाम्रा मिनी ट्रकमार्फत तरकारी आपूर्ति गर्छौं” उहाँले भन्नुभयो, “सङ्कटको समयमा नाफा मात्र नहेरौँ ।” उहाँले भीडभाड नगरीकन एक मिनेटमा एकजनाले तरकारी लिन सक्ने गरी व्यवस्थापन गर्न लागिएको र सरकारी निकायको समेत सहयोग अपेक्षा गरेको बताउनुभयो ।

काठमाडौँ, भक्तपुर, ललितपुरका धेरैजसो स्थानमा तरकारी पुर्याउन आफूहरु सक्षम रहेको उहाँको भनाइ छ । मनोहरा कृषि बजारमा मात्रै ३०० वटा तरकारी पसल छ । तेह्रथुमको मेन्छेन गाउँपालिकाका स्थायी बासिन्दा कोइरालालगायतले पेप्सीकोला नजिकै तरकारी बजार चलाएको लामै भयो । उपभोक्ताले लकडाउनमा ताजा तरकारी नपाएको गुनासो आएपछि चोक चोकमा लगेर बिक्री गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो । चौबीसै घण्टा तपाईं हाम्रो सेवा र सुरक्षाका लागि खटेका सुरक्षाकर्मीलाई बुधबार कोइरालाको समूहले खाजा पानीसमेत उपलब्ध गराएको उहाँले सुनाउनुभयो ।

बजारका व्यापारीलाई सुरक्षाका लागि व्यक्तिगत सुरक्षा पनि उपलब्ध गराइएको छ । व्यापारी सङ्क्रमणमा नपरुन् भनेर व्यक्तिगत सुरक्षा सामग्रीको खोजीमा निस्कनुभएका कोइरालाले रासससँग भन्नुभयो, “हामीले सङ्कटको समयमा गर्ने सहयोग नै हजारौं गुणा पुन्यबराबर हुन जान्छ । अरु बेला पाप गरेको भए पनि सङ्कटको समयमा गरिने सानो सहयोग पनि पुन्य हुन्छ”, कोइराला केही आध्यात्मिक देखिनुभयो । उहाँले सामाजिक दूरी कायम गरेर बजारमा आउनसमेत आफूहरुले उपभोक्तालाई आग्रह गरेको बताउनुभयो ।

सरकारले लकडाउनको समयमा बिहान ३ देखि ७ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु खरिदका लागि समय निर्धारण गरेको छ । सोही समयमा पनि बजारमा सबै सुरक्षात्मक उपाय अवलम्बन गरी तरकारी बिक्री वितरण गरिएको छ । “सडक खाली छन्, आधा घन्टामा राजधानीका जुनसुकै स्थानमा तरकारी पुर्याउन सक्छौँ । हामीलाई उपभोक्ताको पनि सहयोग होस् । सरकारले त सहयोग गर्छ नै”, उहाँले भन्नुभयो । उहाँले काठमाडौँ उपत्यकाका बासिन्दाले आफ्नो मोबाइल नम्बरमा फोन गरेर तरकारी माग गर्न सक्ने बताउनुभयो ।

“मेरो एउटा मात्रै शर्त छ, कम्तीमा तपाई टोल–टोलका बासिन्दा मिल्नुस् र एक हजार केजीबराबरको तरकारी माग गर्नुस्” उहाँले भन्नुभयो, “ त्यसो भयो भने तरकारी आपूर्ति गर्न लागतका हिसाबले पनि सहज हुन्छ । उपभोक्तालाई बढी मूल्य पर्दैन ।” यस्तै काठमाडौँ उपत्यकामा ग्रीन ग्रोथ नामक एक संस्थाले समेत तरकारी तथा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको छ । लकडाउनको समयमा उपभोक्ताले सहज रुपमा दैनिक उपभोग्य वस्तु पाउन् भन्ने ध्येयका साथ आफूहरु लागेको ग्रीन ग्रोथका सञ्चालकहरुले बताएका छन् ।