जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार १७:०६

लकडाउनमा हेलिकोप्टरबाट गर्भवती महिलाको उद्धार गरी काठमाडौं ल्याइयो


काठमाडौं, चैत १५ । लकडाउनका कारण मुलुक ठप्प भईरहेका बेला अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । गर्भवती अवस्थामा रहेकी खोटाङ ऐसेलुुखर्क गाउँपालिका वडा नम्बर ३ की २२ वर्षीया सृजना तामाङको अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको निर्देशनमा उपचारका लागि तत्काल काठमाडौं ल्याएलगत्तै ती महिलाको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचार भईरहेको छ । पाँच महिनाकी ती गर्भवती महिलालाई शुक्रबार साँझदेखि रक्तश्राव भएको थियो ।

शनिबार बिहानै ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकी उनको उपचार त्यहाँ सम्भव नहुने देखेपछि चिकित्सकको सुझावमा गर्भमा रहेकी शिशु र आमा दुवैको जीवन रक्षाका लागि काठमाडांै रिफर गर्नु परेको केन्द्रकी अहेव निर्मला शर्माले जानकारी दिनु भयो । उहाँका अनुसार ती महिलाको पाठेघरमा समस्या देखिएको थियो । शुक्रबार बेलुका देखिनै अत्याधिक रक्तश्राव भएको र स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले त्यहाँ उपचार गर्न नसक्ने भनेपछि हेलिकप्टरबाट काठमाडौंमा ल्याई उपचार सुरुगरिएको तामाङकी पति गणेशले बताउनु भयो ।

स्थानीय स्वास्थ्य केन्द्रले उपचार गर्न नसक्ने भएपछि खोटाङका प्रतिनिधिसभाका सांसद विशाल भट्टराईको आग्रह र प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलको सिफारिसमा ती महिलालाई उपचारका लागि काठमाडौं ल्याइएको हो । दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ ।

यसैबीच, मन्त्री गुरुङले ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ । उहाँले कोरोना भाईरसको संक्रमणबाट बच्न ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी तथा गर्भवती महिला र अपांगता भएका व्यक्तिको विशेष व्यवस्था गर्न पनि सबैलाई आग्रहगर्नु भयो ।