जनता टाइम्स

१५ चैत्र २०७६, शनिबार १८:४९

कोरोना भाइरसविरुद्धको लडाईमा प्रदेश–१ सरकारद्वारा चार समिति गठन


विराटनगर, चैत्र १५

प्रदेश–१ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न चार समिति गठन गरेको छ । शनिबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समिति गठन भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिबहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको संयोजकत्वमा आइसोलेशन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ ।

यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ । गठन भएका समितिहरुमा सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहेका छन् । बैठकले कोरोना विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा कर्मचारीहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सभाका सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोना विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने निर्णय गरेको छ । यसैबीच मुख्यमन्त्री शेरधन राईको अध्यक्षमा आजै बसेको प्रदेश–१ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिहरुलाई १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

कोष सञ्चालकक समितिको बैठकले नेपाली सेनालाई क्वरेन्टाईनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरुलाई क्वारेन्टाईनसम्म र कोरोना अस्पतालसम्म पुर्याउने जिम्मेवारी तोकेको छ । त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अस्पताल र क्वारेन्टाईन क्षेत्रको सुरक्षा गर्ने, संक्रमितहरुको सुरक्षा र लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने जिम्मेवारी तोकेको छ ।