जनता टाइम्स

१६ चैत्र २०७६, आईतवार १३:१५

प्रहरीको कडाईसँगै मुख्य सडकमा मानिसको चहलपहल कम (भिडियोसहित)


काठमाडौं, चैत १६

कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश कार्यान्वयन बढ्दै जान थालेको छ ।

शुरुका दिनमा पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि पछिल्ला दिन प्रहरीले कडाई गर्न थालेपछि अधिकांश घरभित्रै बस्न थालेका छन् । अहिले राजधानीका मुख्य सडकमा आवातजावत सुनसान जस्तै छ । ग्रामीण भेगको तुलनामा सहरी क्षेत्रमा भने सडकमा मानिसको ओहोरदोहोर प्रायः सून्य जस्तै देखिन्थ्यो । तर, सहरकै भित्रि गल्लीमा भने अझै पनि चहलपहल कायमै रहेको देखिन्छ ।

सरकारले औषधोपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन चलेका छैनन् । केहीले अत्यावश्यक काम विशेषले चलाएका निजी सवारी साधनलाई आवश्यकता मूल्यांकनका आधारमा सुरक्षा निकायले अनुमति दिइएको थियो ।

पछिल्लो पटक प्रहरीले नियन्त्रणमा लिदै दुई घण्टा राख्ने गरेपछि मानिसको आवातजावात कम भएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतराले गर्दा सरकारले लकडाउन गरेपनि मानिसको अज्ञानताले समस्या उत्पन्न भईरहेको छ ।