जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार ११:३३

नेकपाको सचिवालय बैठक स्थगित, सहमति जुटाउने प्रयास जारी


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम टुङ्गो लगाउन बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ । नेताहरु विच पोलिटब्युरोमा रहेन सदस्यका विषयमा सहमति जुटन नसक्दा बैठक अनिश्चित बनेको हो । यद्यपी नेताहरुले कार्यव्यवस्थताका कारण सचिवालय बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।

अहिले विहान ११ बजे बोलाइएको बैठक अपरान्ह बस्ने वा भोली मात्र बस्ने भन्ने अन्यौल रहेको छ । स्रोतका अनुसार सहमति जुटे आजै अपरान्ह बैठक बस्ने सम्भावना रहेको बताइएको छ । बैठकले पोलिटव्युरो कमिटीमा रहने सदस्य, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी, पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल भई निर्णय गर्ने एजेन्डा रहेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो । नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ । जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने छन् । पार्टी एकता प्रक्रियाको अन्य विषयमा टुङ्गो लागे पनि आयोगको विषयमा छलफल भई टुङ्गो लाग्न बाँकी छ ।