जनता टाइम्स

१८ चैत्र २०७६, मंगलवार ०८:०१

इटहरी उपमहानगरले थाल्यो विपन्न र ज्यालादारी मजदुरलाई राहत बितरण


सुनसरी, चैत १८ । इटहरी उपमहानगरले १० हजार भन्दा बढी विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिक लागि राहत वितरण गर्न वडाहरुमा खाद्य समाग्री पठाउन थालेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीका अनुसार अहिलेसम्म वडा नम्वर १,२,५,९,१३,१४,१५,१६,१७,र १८ मा खाद्य समाग्री पठाइएको छ ।

सम्वन्धित वडामार्फत वितरण गर्न वडाध्यक्षहरुलाई राहत समाग्री वुझाइएको हो । कोरोना लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन एक हप्तालाई पुग्ने राहत वितरण थालिएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । यसअघि नै वडा नम्वर १ र १७ को मुसहर वस्तीका विपन्न नागरिकलाई खाद्य समाग्री वितरण सुरु गरिएको थियो । इटहरी उपमहानगरले प्रत्येक वडामा चार चार लाख वरावरको राहत वितरण गर्ने निर्णयअनुसार राहत वितरण थालिएको हो । वडाको सिफारिस अनुरुप विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकको लगत संकलन गरी राहत वितरण गरिने छ ।

यसैबीच इटहरी उपमहानगरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि आग्रह गरेको छ । नेपाल वैंक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि इच्छुक ब्यक्ति तथा संघ संस्थाहरुलाई उपमहानगरले आग्रह गरेको हो ।