जनता टाइम्स

१९ चैत्र २०७६, बुधबार १०:२८

उल्लङ्घन रोक्न भक्तपुरमा एक घर एक पासको व्यवस्था


भक्तपुर, चैत १९

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको उल्लङ्घन भएपछि भक्तपुर नगरपालिकाले अनुमतिपत्र को प्रबन्ध गरेको छ । नगरपालिकाभित्र धेरै स्थानीयवासी बाक्लोरूपमा खुलेआम हिँड्न थालेपछि नगरका बासिन्दालाई लकडाउनमा राख्न नगरपालिकाले अनुमतिपत्र लागू गरेको हो ।

लकडाउनको समयमा स्थानीय बासिन्दाले हिँडडुल गर्दा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेकाले नगरपालिकाले अत्यावश्यक कामका लागि मात्रै घर बाहिर जान पाउने गरी अनुमतिपत्र लागू गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । तरकारी र खाद्यान्न पसलमा मानिसको भीड लाग्ने गरेको, बाहिर खुलमखुला हिँड्ने गरेपछि यसलाई रोक्न एक घर एक पासको व्यवस्था गरेको हो । नगरपालिकाले नगरवासीका लागि सम्बन्धित वडा कार्यालयमार्फत अनुमतिपत्र वितरण गर्न थालेको छ ।

एक घरबाट एक जना मात्र बाहिर निस्कन पाउने गरी वडा कार्यालयमार्फत अनुमतिपत्र वितरण गर्न थालेको हो । अनुमतिपत्र लिएर एक घरबाट एकपटकमा एकजना मात्र बाहिर निस्कन पाइने छ भने परिचयपत्र बोकेर अनावश्यकरूपमा हिँडेको पाइए कारवाही गरिने प्रजापतिले बताउनुभयो । मन्दिर, मस्जिद, चर्च, पाटीलगायत धार्मिकस्थलमा पूजाप्रार्थना गर्ने वा मर्निङवाक, योग र शारीरिक व्यायामको नाममा असुरक्षित रुपमा घरबाट बाहिर आउने, तरकारी वा खाद्यान्न किनमेलको नाममा भीडभाड गर्न नगरपालिकाले रोक लगाएको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वाले जानकारी दिनुभयो ।

नगरपालिकाले आजदेखि दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूलसडक र चोकमा तरकारी बजार राख्न पूर्ण निषेध गर्ने गर्दै निश्चित क्षेत्र तोकेको छ । नगरपालिकाले तोकेको भन्दा अन्यत्र तरकारी बजार राख्नसमेत निषेध गरेको छ भने तरकारी र खाद्यान्न पसलमा एक मिटरको दूरी राखेर कारोवार गर्नुपर्ने नियमलाई कडाइ गर्ने भएको छ ।