जनता टाइम्स

१९ चैत्र २०७६, बुधबार १५:१६

डा. भगवान कोइरालाको अपिल : अस्पताल आएका कोही पनि बिरामी जाँच नै नगरी फर्काउनु भएन


काठमाडौं, चैत १९ । मेडिकल काउन्सिलका अध्यक्ष तथा बरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले कोरोना भाइरस (कोभिड–१९) का बिरामी हेर्न भनेर नतोकेका अस्पतालमा पनि कोही बिरामी परीक्ष्णबिनै फिर्ता गर्ने काम नगर्न सवै अस्पताल र स्वास्थ्यकर्मीलाई अपिल गर्नुभएको छ ।

राजधानीलगायत मुलुकभरका अस्पतालहरुले कोरोनाका बिरामी हेर्न भनेर नतोकिए पनि अस्पताल आउने बिरामीलाई उपचारबिनै पठाउने र मृत्यु हुनेसम्मको घटना भएको बेला कोइरालाले यस्तो अपिल गर्नुभएको हो । ‘कोभिड–१९ का बिरामी हेर्न भनेर नतोकेका अस्पतालमा पनि कोही बिरामी भएर आयो भने जाँच नै नगरी कसैले फर्काउनु भएन,’ अध्यक्ष कोइरालाले भन्नुभएको छ ।

यस्तो छ कोइरालाको अपिल

देश नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग लड्दैछ । यसको अग्रपंक्तिमा हामी स्वास्थ्यकर्मी नै छौं । यो अप्ठ्यारो परिस्थितिमा हामी स्वास्थ्यकर्मीहरु आफ्नो धर्म निभाउन चुक्नुहुन्न । जनताको बिश्वास कायम राख्न चुक्यौं भने हामीले नै ठुलो मुल्य चुकाउनु पर्नेछ । विज्ञानले दिएको, हामीलाई गाइड गरेको हदसम्मको सुरक्षा राज्यले दिनुपर्छ । त्यो सुरक्षा हामीले पनि लिनुपर्छ । त्योसँगै हाम्रो मेडिकल इथिकल प्रिन्सिपल, देशको इथिकल प्रिन्सिपल र हाम्रो आफ्नै ब्रह्मलाई सुनेर मर्न लागेको बिरामीको उपचार हामीले गर्नुपर्छ । त्यो हाम्रो नैतिक र कानुनी दुबै दायित्व हो । यो पूरा गर्न हामी पछि नहटौं । यस्तो नहोस, भोलि हामीले एकअर्कालाई (समाजले हामीलाई, हामीले समाजलाई) हेर्नै नसकिने स्थितिमा पुगौं !

कोभिड–१९ का बिरामी हेर्न भनेर नतोकेका अस्पतालमा पनि कोही बिरामी भएर आयो भने जाँच नै नगरी कसैले फर्काउनु भएन । सामान्य जाँचबाट कोभिड–१९ को शंका लागे बिरामीलाई तोकिएको कोभिड अस्पतालमा सिफारिस गरेर उनीहरूलाई त्यहाँ पठाउने व्यवस्था मिलाइदिऔं

सरकारले कोभिड–१९ को उपचार गर्न निश्चित गरेर, छुट्टयाएका अस्पतालमा पिपिईलगायतका सुरक्षा सामाग्री पुर्याएको बताएको छ । म पनि त्यसैमा विश्वास गर्छु । कोभिड–१९ का बिरामी हेर्न भनेर नतोकेका अस्पतालमा पनि कोही बिरामी भएर आयो भने जाँच नै नगरी कसैले फर्काउनु भएन । सामान्य जाँचबाट कोभिड–१९ को शंका लागे बिरामीलाई तोकिएको कोभिड अस्पतालमा सिफारिस गरेर उनीहरूलाई त्यहाँ पठाउने व्यवस्था मिलाइदिऔं । कोभिड–१९ नलागेको हो भने त्यो बिरामीले त्यही अस्पतालमा पूरा उपचार पाउने व्यवस्था मिलाऔं ।

मेरो अर्को अनुरोध पनि छ– हामीले आफ्नो जिउ ज्यानको ख्याल गर्दा सुरक्षाका सामग्रीमा मात्र ध्यान नदिउँ । गाउन र कवच लगाउँदैमा सुरक्षा भैहाल्छ भन्ने होइन । सुरक्षाका अरू उपाय पनि अपनाउनु पर्यो । आफ्नो निजी सरसफाइ, जस्तैः हात सफा राख्ने, ड्युटीमा काम गरिसकेपछि आफूलाई पुरै सफा गर्ने गरौं । त्यसो गर्यौं भने हामीलाई रोग लाग्ने खतरा कम हुन्छ र हामी बिरामीको राम्ररी उपचार गर्न सक्छौं । अहिलेको अवस्थामा स्वाथ्यकर्मीले गर्नुपर्ने काम यही हो । यसमा हामी कोही नचुकौं ।