जनता टाइम्स

२० चैत्र २०७६, बिहीबार १३:१७

काठमाडौंमा अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने


काठमाडौं, चैत २०

भिडभाड बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारबाट सवारीसाधनलाई पास वितरण बन्द गरेको छ । सवारी पासको लागि कार्यालयमा अत्यधिक भिड बढेको र त्यसले जोखिम बढ्न सक्ने भएकाले पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले कोभिड–१९ को संक्रमण रोक्नका लागि लकडाउन अवधिभर अत्यावश्यक कार्यका लागि सवारीसाधनहरूलाई पास वितरण गर्दै आएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अब अत्यावश्‍यक सेवाका सवारीलाई पास नचाहिने जानकारी दिनुभयो ।

एम्बुलेन्सहरु, औषधि तथा औषधिजन्य वस्तु बोकेका सवारी तथा डाक्टर, नर्स तथा कर्मचारीहरुलाई बोकेका सवारीले पास लिनु नपर्ने व्यवस्था गरेको छ । तर, सबैले आफ्नो परिचयपत्र बोक्नुपर्नेछ । खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुहरुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सवारीहरुले पनि निर्वाधरुपमा चल्न पाउने भएका छन् । तर,यस्ता सवारीहरुमा यात्रु ओसार्न भने पाइनेछैन ।

व्यक्तिगत समस्या, परिवार, वा आमा बिरामी ,भेटघाट, काम विशेष जस्ता विषयलाई लिएर सवारी पास नपाउने उहाले स्पष्ट पार्नुभयो । तत्काल पर्ने आकस्मिक मानवीय अवस्था, गम्भीर बिरामी अस्पताल जानुपर्ने अवस्था जस्ता परिस्थितिमा नजिकको सुरक्षा इकाइसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।