जनता टाइम्स

५ जेष्ठ २०७६, आईतवार १५:३५

ललितपुरको समृद्धि र विकासका लागि आयो अध्यक्ष प्रचण्डको यस्तो अठोट


ललितपुर, जेठ ५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहका जनप्रतिनिधिले जनतामाथि शासन नभई जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवनिर्मित भवनको आज ढोलाहिटीमा उदघाटन गर्दै प्रचण्डले सो आग्रह गर्नुभएको हो ।

जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौं भन्ने प्रमाणित गर्नु आवश्यक छ,’ ‘सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजनाअन्तर्गतकै तीन तहको सरकार बनेको हो । स्थानीय तह जनताको सेवासुविधाका लागि हो । त्यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।’ केन्द्रीकृत संरचनामा रहेको सिंहदरबारबाट जनताले सेवा लिन नसकेको ठानी तीन तहको सरकार बनाएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री दाहालले बजेट र पूर्वाधारको अभावले धेरै स्थानीय तहमा जनअपेक्षित सेवा प्रदान गर्न नसके पनि अब भने जनपक्षीय काममा केन्द्रित हुन आग्रह गर्नुभयो ।

स्थानीय सरकार सञ्चालनका लागि केही ऐन नियम बनिनसकेको र अभाव रहेकैबेला हिजोकै एकात्मक राज्य नै ठीक भन्ने अलिअलि सल्बलाउन थाले पनि क्रमशः विकास निर्माणले गति लिन थालेपछि त्यस्तो प्रवृत्ति हराएर जाने उहाँले स्पष्ट पार्नुभयो । ललितपुरको समृद्धि र विकास आफ्नो पनि चाहना हो भन्दै दाहालले यसका लागि प्रधानमन्त्रीसहितको जनप्रतिनिधिको बैठक राख्न पहल गर्ने जानकारी दिनुभयो ।

‘काठमाडौँ तराई–मधेश द्रुतमार्ग र ललितपुरको विकासका लागि प्रधानमन्त्रीसहितको बैठक राख्न म पहल गर्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ललितपुर जिल्लाको समृद्धि र यहाँको जनताको हितका निम्ति निरन्तर सहयोग गर्ने वचन दिन्छु ।” वडा नं २६ का वडाध्यक्ष सुरेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवं सांसद पम्फा भुसाल, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलगायतको उपस्थिति थियो ।