जनता टाइम्स

२१ चैत्र २०७६, शुक्रबार १०:१९

‘कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे !’


रविन्द्र काफ्ले, पाँचथर, चैत २१

पाँचथर, फिदिम नगरपालिका–९ लुम्फाबुङका इन्द्रबहादुर लावतीले २५ किलोको चामलको बोरा उचाल्दै सोध्नुभयो, “यो ककसले दिएका रे रु” वितरण गर्न गएकाहरुले बुझाए, “हाम्रै क्षेत्रबाट निर्वाचित प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र उहाँकी श्रीमती कुमारी लावतीले ।” उहाँ मुस्कुराउनुभयो ।

आफू र छोराले काम नपाइरहेका बेला महिना दिन पुग्ने चामलको जोहो भएकामा ‘हल्दार’मा खुशी त थियो नै, त्यसभन्दा बढी आफू आर्थिक रुपले पीडित भए पनि कसैले नहेरेको तर मन्त्रीले चामल पठाइदिएको भनेर दङ्ग हुनुभयो । “घर जल्यो । अन्न फल्न छाड्यो”, आफ्नो पीडामा खुशी भर्दै लावतीले भन्नुभयो, “कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे १ चेलीले सम्झिइन् ।”

लावती फिदिम र नवमीडाँडाबाट गाउँसम्म सामान बोेकेर जीविका चलाउनुहुन्थ्यो । जब गाउँमा सडक र गाडी पुग्यो, आम्दानीको बाटो टुट्यो । श्रीमती पनि बितिन् । केही वर्षअघि फिदिमबाट गाउँसम्म पेट्रोल लिएर जानुभएको थियो हल्दार । घरमा राखेर बितेको काम सम्हाल्न थाल्नुभयो । पेट्रोल पोखियो, आगो उठ्यो, घर जल्यो । आर्थिक विपन्नताकै कारण छोराछोरीलाई राम्रोसँग पढाउन पाउनुभएन । बिहीबार ‘मन्त्रीले पठाइदिएको’ चामल पाउँदा ‘हल्दार’ लावतीलाई सबै खुशी फर्किएजस्तो लाग्यो ।

लावतीजस्तै फिदिम नगरपालिका र तुम्बेवा गाउँपालिकाका ३१० ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवारलाई मन्त्री आङ्बोले व्यक्तिगत रुपमा खाद्यान्न उपलब्ध गराउनुभएको हो । लकडाउनको प्रभावले दैनिक श्रम गर्न नपाएर समस्यामा परेका विपन्न परिवारलाई मन्त्री आङ्बोले रु दुई लाख ५० हजार मूल्यको खाद्यान्न उपलब्ध गराउनुभयो । “लकडाउनको प्रभावले दैनिकी गुजार्न समस्यामा परेका आफ्नै निर्वाचन क्षेत्रका नागरिकलाई आफ्नै लगानीमा राहत दिएको हुँ”, मन्त्री आङ्बोले भन्नुभयो, “तीनै तहका सरकारले यस्ता परिवारहरुलाई सहयोग गर्नुपर्ने आवश्यकता छ । यसमा स्थानीय सरकारको विशेष तत्परता चाहिन्छ ।”

स्थानीय तहले दैनिक ज्यालामजदूरी गरेर जीविकोपार्जन गर्ने तथा अतिविपन्न आर्थिक अवस्थाको परिवारका रुपमा सूचीकृत गरेका परिवारलाई जनप्रतिनिधिकै रोहवरमा खाद्यान्न उपलब्ध गराइएको हो । मन्त्री आङ्बोले तुम्बेवा गाउँपालिकाका १९० परिवार, फिदिम–९ लुम्फाबुङका ६० परिवार तथा फिदिम–६ शिवाका ७० परिवारलाई खाद्यान्न उपलब्ध गराउनुभएको हो । मन्त्री आङ्बो पाँचथर क्षेत्र नं ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।