जनता टाइम्स

२२ चैत्र २०७६, शनिबार १३:४६

कोरोनाको संक्रमण पहिलो पटक स्थानीय रूपमा सरेको पुष्टि


काठमाडौं, चैत २२

नेपालमा अहिलेसम्म बाहिरबाट आएका मानिसमा मात्र देखिएको कोरोना भाइरस (कोभिड–१९) आन्तरिक रुपमा पनि सर्न थालेको पुष्टि भएको छ ।

कैलालीमा चौथो संक्रमितको आफन्तमा भेटिएपछि आन्तरिक रुपमा सर्न थालेको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३४ वर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको छ । स्थानीय अस्पतालले दिएको जानकारी अनुसार उनि चौथो संक्रमित ३४ वर्षिया युवाकी भाउजु हुन् । योसँगै स्थानीयमा समेत कोरोना सर्न थालेको पुष्टि भएको मन्त्रालयले समेत पुष्टि गरेको छ ।

‘दुबईबाट आएका एक व्यक्तिबाट उनकी भाउजुमा पनि कोरोना सरेको छ’, मन्त्रालय स्रोतले भन्यो, ‘यसको अर्थ पहिलो पटक नेपालमा कोरोना विदेशबाट आएका व्यक्तिबाट यहीँ बसिरहेकामा पनि सरेको छ ।’ मार्च १९ मा संयुक्त अरब इमिरेट्सको दुबईबाट एयर अरेबियाको जहाजमा कैलालीका ३४ वर्षीय युवक कोरोना संक्रमित भई धनगढी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

स्थानीयमा संक्रमण सर्न थाल्नु चिन्ताको विषय भएपनि अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । उनिहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजीमा रहेको र अधिकाशं फेला परेकाले तत्कालै अवस्थाको विश्लेषण गरेर थप कदम चालिने बताइएको छ ।

त्यसैगरी भारतबाट आएकोमा पनि कोरोना देखिएपछि यो भने थप चिन्ताको विषय भएको छ । भारतबाट कयौं मानिस नेपाल आएको र उनिहरु लुकेर क्वारेन्टाइनमा बस्न नमान्ने गर्नु दुखद भएको मन्त्रालयको भनाई छ । मन्त्रालयले अझै पनि भारतबाट आएर कोही क्वारेन्टाइनमा बस्नु भएको छैन भने सम्वन्धित स्थानीय तहमा सम्पर्क गर्न आग्रह गरेको छ ।