जनता टाइम्स

२३ चैत्र २०७६, आईतवार २०:२४

कांग्रेसबाट निर्वाचित मेयरसहित राहत बाड्न पुगेका युवाले सर्वसाधारण कुटे !


स्याङजा, चैत २३

स्याङ्जामा राहत वितरण गएका स्थानीय सरकारका प्रमुखसहितको टोलीले सर्वसाधारणलाई कुटपिट गरेर फर्किएका छन् । कोरोनाको महामारीले गर्दा हातमुख जोड्न कतिपयलाई धौ धौ परिरहदा सरकारले राहत बाड्न निर्देशन दिएको छ ।

सबै स्थानीय तहले कोष स्थापना गरेर राहत बाड्न थालेका हुन् । तर, चापाकोट नगरपालिकाका नगरप्रमुख शिव गिरी सँगै गएका समूहले वडा नं. ६ का सुमन बिकलाई कुटपिट गरेका हुन् । वडा नं ६ को मोहमी गाउँमा गरिएको राहत वितरण प्रकृयामा चित्त नबुझेपछि बिकले आपत्ति जनाएका थिए । उनले स्थानीय सरकारको राहत वितरण गर्ने शैलीमाथि प्रश्न गरेका थिए । ‘मैले नराम्रो कुरा गरेको थिइनँ । २५ किलोका एक बोरा चामलले गाउँको ५ परिवारलाई कसरी पुग्छ भनेको थिएँ’, उहाले भन्नुभयो, ‘मेयर सा’बसँग आएका युवाहरुले कुटे ।’ कुटपिटबाट विकको ओठमा चोट लागेको छ ।

राहत वितरणमा अवरोध गर्न आएपछि सम्झाइ बुझाइ मात्र गरिएको दाबी मेयर गिरीले गर्नुभयो । उहाले कसैलाई हात नहालेको समेत बताउनु भयो । ‘विक भाइले विरोध गरेपछि मसँगै गएका भाइहरुले सम्झाएका मात्र हुन्’, उहाले भन्नुभयो, ‘हात चाहिँ हालेका छैनन् ।’ उहाले त्यहाँ कुटपिटको घटना नभएको दाबी गर्नुभयो । गिरी नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित हुनुभएको थियो । राहत बाडेको सो वडामा पनि नेपाली कांग्रेसको प्यानल नै विजयी भएको थियो ।