जनता टाइम्स

२४ चैत्र २०७६, सोमबार ११:२१

लकडाउनको समयवाधि एक साता थप्न सिफारिस


काठमाडौं, चैत २४

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सरकारलाई सिफारिस गरेको छ । बैशाख २ गतेसम्म लकडाउन लम्ब्याउन सरकारलाई समितिले सिफारिस गरेको हो ।

संक्रमण नियन्त्रणमा लिन सजिलो होस् भनेर समितिको बैठकले लम्ब्याउने निर्णय गरेको छ । आज दिउँसो २ बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरिने बताइएको छ । कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो ।

दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो । संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन् । सरकारले लकडाउन थप्दै केही कडा बनाउने र सुदूरपश्चिम प्रदेशका लागि विशेष निर्णय गर्न सक्ने बताइएको छ ।