जनता टाइम्स

२४ चैत्र २०७६, सोमबार १२:२१

पूर्वराजा ज्ञानेन्द्रको सुझाव ‘संकटमा राजनीति गर्नु घातक !’


काठमाडौं, चैत २४

पूर्वराजा ज्ञानेन्द्र शाहले देश संकटमा परेका बेला राजनीति गर्नू घातक हुने बताउनु भएको छ । उहाले एकजुट भएर महामारीविरुद्ध लड्नुपर्ने बेला राजनीति गर्नु घातक हुने बताउनु भएको हो ।

सरकारले कोरोनाभाइरसविरुद्ध गरेको अभियानका विषयमा विभिन्न दल, समुहले राजनीति गरिरहँदा पूर्वराजाको यस्तो भनाई बाहिर आएको हो । सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना धारणा राख्दै पूर्वराजा शाहले यतिखेर सम्पूर्ण विश्व नै कोरोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेको उल्लेख गर्नुभएको छ ।

‘सम्पूर्ण विश्व नै कोरोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेका बेला अनावश्यक राजनैतिक विषयवस्तु उठान गरी एक अर्काको विवादमा अल्मलिनु सर्वथा घातक हुनसक्छ’, उहाले टिवटरमा लेख्नु भएको छ,‘सम्पूर्ण नेपाली एक भएर पवित्र मनले परिस्थितिसँग जुध्नु आजको अनिवार्य आवश्यकता हो ।’

उहाले सरकारलाई जाँच प्रणाली र आवश्यक उपकरणको तिब्रता बढाउन सुझाव समेत दिनुभएको छ । ‘कोरोना संक्रमणको त्रास घट्ने भन्दा झन् बढ्दै गएको कुरा नकार्न सकिन्न । सरकारले जाँच प्रणाली र आवश्यक उपकरणको तिब्रता बढाउनु नै बुद्धिमानी हुनेछ । संकटको यस घडीमा जात, धर्म, समुदाय भन्दा मानवधर्म सर्वोपरी हुन्छ । स्वास्थ्यकर्मी, सेना, प्रहरी र आमनागरिकबाट स्वधर्म पालना हुने नै छ’, उहाले भन्नुभएको छ ।