काठमाडौं, चैत २७ । सरकारले लकडाउनको समयमा उपत्यकाबाट घर जान चाहनेलाई पठाउनका लागि गरेको निर्णय फिर्ता लिएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार शुक्रवार र शनिवार उपत्यकाबाट घर फर्कन चाहनेलाई यातायात ब्यवसायीसँग समन्वय गरेर सुरक्षित रुपमा पठाउने निर्णय भएपनि जनस्तरबाट आपत्ति जनाइएपछि सरकारले फिर्ता लिएको हो ।
आज दिउसो गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बशन्त नेम्वाङ, गृहसचिव महेश्वर न्यौपानेसहितका पदाधिकारीले शुक्रवार र शनिवार उपत्यकाबाट बाहिर जान दिने बिषयमा कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री इश्वर पोखरेलसँग छलफल गर्नुभएको थियो । सो क्रममा संयोजक पोखरेलले गृह मन्त्रालयले आवश्यक मापदण्ड बनाएर यस बिषयमा काम अघि बढाउन सक्ने भन्दै सहमति जनाउनु भएको थियो ।
सोहीअनुसार सरकारले उपत्यकाबाट घर फर्कनदुई दिन समय दिएको समाचार सार्वजनिक भएको हो । तर समाचार सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शिष्ट भाषामा आपत्ति जनाउनु भएको थियो भने अन्य मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुले समेत निर्णय सच्याउनुपर्ने सुझाव दिएका थिए । निर्णय सार्वजनिक भएलगत्तै चौतफी दवाव आएपछि गृह मन्त्रालय उपत्यका बाहिर जान दिने निर्णयबाट पछि हटेको छ ।
गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट लकडाउन अगावै घर फर्कन चाहेका तर जान नसकेका नागरिकलाई फिर्ता जाने ब्यवस्था गर्ने कि भन्ने प्रस्तावमा छलफल भएको हो । बाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले उच्चस्तरीय समितिको बैठकबाट नभई सम्बन्धित मन्त्रालयबाट दुई दिन उपत्यका बाहिर जान दिने निर्णय भएको बताउनु भयो ।
‘लकडाउन अघि नै रोकिएका कयौं मानिसहरु घर पठाउनका लागि सरकारले दुई दिन सुरक्षित तरिकाले पठाउने भन्ने नै हो । बिशेष गरी लामो दुरीकालाई पठाउने भन्ने हो । काठमाडौं आउने होइन, काठमाडौंबाट बाहिर जान चाहनेलाई जान दिने भनेको हो,’ मन्त्री भट्टले भन्नुभयो ।
उहाँका अनुसार यस बिषयलाई कार्यान्वयन गर्न बस ब्यवसायी राष्ट्रिय महासंघसँग गृह मन्त्रालयमा छलफलका लागि बोलाइएको थियो । तर यही बीचमा जनस्तरबाट निर्णय अनुचित भएको आवाज आएपछि सो निर्णय फिर्ता लिएको हो । जनआक्रोश बढेपछि गृह मन्त्रालयले समेत उपत्यकाबाट बाहिर जान दिने कुनैनिर्णय नभएको पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्