जनता टाइम्स

२८ चैत्र २०७६, शुक्रबार १४:३२

यसकारण आवश्यक छैन उच्चस्तरीय राजनीतिक संयन्त्र


काठमाडौं, चैत २८ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि गैरसंबैधानिक संयन्त्र निर्माण नगर्न सरकारलाई सुझाव दिनुभएको छ । सत्तारुढ नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले कोरोनाबिरुद्धको लडाई जित्न उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माणको प्रस्ताव सार्वजनिक गर्नुभएलगत्तै गाउँलेले आपत्ति जनाउनु भएको हो ।

बिश्व खोज पत्रकारहरुको नेतासमेत रहनुभएका गाउँलेले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई संबिधानले नचिन्ने बताउनु भएको छ । ‘वर्तमान संविधानले नचिन्ने ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ कोभिड–१९ विरुद्ध लड्न आवश्यक संयन्त्र हुँदै होइन । फेरि २०५६ साल यता गाउँ–गाउँमा लोकतन्त्र कमजोर बनाउन प्रयोग भएको ‘सर्वदलीय संयन्त्र’ कोभिड–१९ संग लड्ने औजार कसरी हुनसक्छ ? जवकी अहिले हामीसंग संसद र स्थानीय सरकार दुवै छन,’ अध्यक्ष प्रचण्डको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै गाउँलेले भन्नुभएको छ ।

सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले बिहीवार एउटा टेलिभिजनलाई दिनुभएो अन्तर्वार्तामा कोभिडसँगको लडाईंमा बिजय हासिल गर्न प्रधानमन्त्रीकै नेतृत्वमा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठन गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वदलीय सरकार गठन, नेता डा. प्रकाशशरण महतले मध्यावधी निर्वाचन हुनुपर्ने प्रस्तावलाई आम नागरिकले अस्वीकार गरेकै बेला सत्तारुढ दलकै अध्यक्षले उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रस्ताव गर्नुभएको हो ।

उहाँको प्रस्तावलाई बौद्धिक ब्यक्तिहरुले कडा आपत्ति जनाउन थालेका छन । नेकपाकै नेता कार्यकर्ताहरु पनि यो प्रस्ताव आफ्नै दलको नेता, सरकार र मन्त्रीप्रति अध्यक्ष प्रचण्डको अबिश्वासको रुपमा बुझेका छन ।