जनता टाइम्स

२८ चैत्र २०७६, शुक्रबार १६:०२

ओम्नी समुहले खोल्यो मुख : दियो पाँच बर्षदेखि स्वास्थ्य सामाग्री खरिद गरेको प्रमाण


काठमाडौं, चैत २८ । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा बिवादमा ल्याइएको ओम्नी समुहले मुख खोलेको छ । सरकारले हालसम्म स्वास्थ्य सामाग्री खरिद नै नगरेको संस्थालाई कोरोना भाइरसको मौका छोपेर सामाग्री खरिदको जिम्मा दिएको भन्दै समाचार सार्वजनिक भइरहेको बेला ओम्नी समुहले बिगत पाँच बर्षदेखि नेपालमा मेडिकल इक्वीपमेन्ट खरिद गरी ठुला अस्पताललाई दिएको तथ्यसहित १७ बुँदे जवाफ दिएको छ ।

ओम्नी समुहले बिज्ञप्ती जारी गरी यस्तो तथ्य सार्वजनिक गरेको हो । ‘यो कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई मूख्यरुपमा सूचना प्रविधि तथा जेनरल ट्रेडिङसम्बन्धी क्षेत्रमा कार्य गर्दै आएको छ, साथै विगत ५ वर्षदेखि मेडिकल इक्वीपमेन्ट तथा Accessories हरु आयात तथा विक्रि वितरण र सोको सेवा दिदै आएको छ । नेपालको प्रायः सबै ठूला अस्पतालहरुमा क्रिटिकल केयरसम्बन्धी उपकरणहरु यस कम्पनीले उपलब्ध गराएको छ,’ बिज्ञप्तीमा भनिएको छ । बिज्ञप्तीमा जनाइएअनुसार सो कम्पनीले त्रिबि शिक्षण अस्पताल, बीर अस्पताल, प्रसुती गृह, नेपाल मेडिसिटी, नोवेल मेडीकल कलेज, नर्भिक र ग्राण्डी अस्पताललाई क्रिटिकल केयरसम्बन्धी सामाग्रीको सेवा दिएको हो ।

यस्तो छ ओम्नी समुहको बिज्ञप्ती

कोरोना भाईरस (COVID-19) को रोकथाम तथा नियन्त्रणको लागि सामान आपुर्तिगर्ने संझौता सम्बन्धमा ओम्नी समुहको तर्फवाट जारी गरिएको प्रेश विज्ञप्ती

विश्व सहित नेपाल महामारीको चपेटामा परिरहेको अवस्थामा स्वास्थ सेवा विभागको तर्फवाट चैत्र १२ गतेको गोरखापत्रमा प्रकाशित सूचनाअनुसार सामान तथा उपकरणहरुको खरिद प्रकृयामा ओविसिआई (ओम्नी समुह जसले विगत ५ वर्षदेखि मेडिकल इक्वीपमेन्ट आपुर्ति गर्दै आएको) लगायत अन्य आपुर्तिकर्ताहरुले आशय पेश गरेकोमा यस कम्पनीले पेश गरेको आसय सबैभन्दा कम मूल्यको रहेको र तत्काल आवश्यक पर्ने सामान तथा उपकरणहरु छोटो समयमा आपुर्ति गर्ने हाम्रो प्रतिवद्धताको कारण संझौता गरीएको ।

एक दुई वटा सामानको दररेट सम्बन्धमा समाचारको माध्यमवाट फैलाईएको अफवाहवारे यही चैत्र १६ गते स्वयं स्वास्थ सेवा विभागले आधिकारिक जानकारी गराई सकेको ।

यही चैत्र १६ गते कम्पनीले अत्यावश्यक सामान तथा उपकरणहरु तोकिएको समय भन्दा २४ घण्टा अगावै नेपाल वायुसेवाको जहाजमार्फत ल्याई सरकारलाई उपलब्ध गराएको र आज सोही उपकरण तथा सामानहरुको कारण देशब्यापी परीक्षणको कार्य भईरहेको ब्यहोरा सर्वविदितै छ ।

हामीले यस विपदको घडीमा आफ्नो स्वास्थ, परिवार तथा समाज नभनी जनताको स्वास्थको लागि गरेको कार्यमा एकतर्फी रुपमा जिम्मेवार संचार माध्यमहरुवाट हामी माथी जसरी आक्रमण भयो । सोवाट हामीलाई दुखित मात्र वनाएको छैन, हाम्रो नागरिक हक समेत हनन भएको महसुस गरेका छौं । हामीमाथि निरन्तर प्रहार भइरहदा समेत परिस्थितीको गाम्भिर्यतालाई ध्यानमा राखी हामी तरंगित नभई धैर्यताका साथ वसिरह्यौं । आज हामी देशको जिम्मेवार संचार जगतमार्फत यस सम्बन्धमा भएका सत्य तथ्यहरु आम जनसमुदाय, हाम्रा शुभेच्छुक, ब्यापारिक साझेदार तथा सरोकारवालाहरुलाई स्पष्ट पार्न चाहन्छौ ।

१. विपदको यस घडीमा देश, जनता तथा सरकारलाई सहयोग गर्ने मनसायले यस कार्यमा सहभागी भएको र यसमा कुनै वदनियत नरहेको, संचार माध्यमहरुवाट फैलाईएको भ्रष्टाचार भएको भन्ने अफवाहमा कुनै सत्यता नरहेको । हामी सधै देश र जनताप्रति समर्पित छौं र यस विपदको घडीमा एक असल नागरिकले खेल्नु पर्ने भुमिका प्रति हामी सजग तथा जानकार छौं ।

२. सम्माननीय प्रधानमन्त्रीज्यू, उपप्रधानमन्त्रीज्यू, अन्य माननीयय मन्त्रीज्यूहरु तथा सल्लाहकारहरु तथा अन्य पक्षहरुको यस संझौतामा कुनै सम्बन्ध नरहेको स्पष्ट पार्न चाहन्छौं ।

३. यस विषम परिस्थितीमा चीनमा कोरोनाको रोकथाम तथा नियन्त्रण सम्बन्धी सामान तथा उपकरणहरुको वजारमा मूल्य प्रत्येक दिन परिवर्तन भईरहेको र राम्रो अर्थतन्त्र भनिएका देशहरुले पनि खरिदमा होडवाजी चलिरहेको ।

४. नेपालवाट चीनमा गई उत्पादक, वितरकसंग सम्पर्क गरी मूल्य सम्बन्धमा वार्ता गर्ने अवस्था लकडाउनको कारण सम्भव नभएको ।

५. हामीले यस कार्यमा नियमानुसार लिन सक्ने २० प्रतिशत अग्रिम रकम नलिएको । यदी हाम्रो नियतमा खोट भएको भए उक्त रकम भुक्तानी लिई सामान आपुर्तिमा ढिलासुस्ती गर्ने थियौं होला ।

६. साथै आपुर्ति गरेको सामानहरुको समेत आजसम्म कुनै भुक्तानी नपाएको ।

७. हामीले आपुर्ति गरेको सामान तथा उपकरणहरुको गुणस्तर सम्बन्धमा हामी पूर्णरुपमा सजग रहेको र उक्त सामान तथा उपकरणहरु युरोपियन मापदण्ड (सिई), चाईनिज मापदण्ड सीएफडिए अनुसार भएको र चीन सरकारवाट मान्यता प्राप्त संस्थाहरुले उत्पादन गरेकोे । जसको सर्टिफिकेटहरु स्वास्थ सेवा विभागमा सामान तथा उपकरणको साथ साथ पेश गरेको ।

८. यस कम्पनीवाट विभागमा पिपिई सेटको एक मुष्ट कोटेसन यूएस डलर ४२.९८ (ढुवानी सहित) पेश गरेको र पछि छलफल हुदा सेट भित्रको ५ प्रकारका आईटमहरुको मूल्य अलग अलग छुट्याउने क्रममा एन ९५ मास्क तथा गगल्सको मूल्य केही बढी उल्लेख हुन गएको र गाउन (Gown) को मूल्य परल मूल्य भन्दा १६ डलर कम उल्लेख भई तलमाथी पर्न गएको । पेश गरेको रकम र संझौताको रकम ४२.९८ डलर फरक नभएको । सेटभित्रको अलग अलग सामानको दर युएस डलरमा यस प्रकार रहेको : Goggles १७.९१, Gown १५.९१, Glove ०.२०, N95 Mask ६.९७, Shoe Cover १.९९ रहेको । संचार माध्यमवाट Goggles र थर्मोमिटरको मूल्य बढी भएको भनी समाचार आएपछि उक्त सामान हामीले चीनमा खरिद गरीसकेको अवस्थामा समेत प्रथम लटमा आपुर्ति नगरेको । हामीले युरोपियन स्टाण्डर्डको थर्मोरमटरको ६५ युएस डलर प्रस्ताव गरेको । PPE सेटको हवाई भाडा समेत कूल रु. ५२४४।( रहेको ।

९. संचार माध्यममा आएको समाचार सम्बन्धमा छलफल गरी सत्य तथ्यको जानकारी गराउन कम्पनीले पटक पटक स्वास्थ सेवा विभागसंग सम्पर्क गर्न प्रयास गर्दा हाम्रो फोन नउठाएको र कार्यालयमा भेट समेत नदिएको ।

१०. यस कम्पनीले यूएस डलर १,५३,८५०।( (ने.रु.एक करोड छयासी लाख छ हजार मात्र) मा उपकरण ढुवानीको लागि नेपाल एयरलाईन्सको जहाज चार्टर गरेको र IATA नियमको पुरा पालना गरिएको । चीन सरकार र Alibaba Foundation ले उपलब्ध गराएको अत्यावश्यक समानहरु कुटनैतिक सम्बन्धको ख्याल गरी हामीले चार्टर गरेको जहाजमा ल्याएको । हवाई भाडा प्रति केजी करिव यूएस डलर १६ परेको ।

११. सझौता बमोजिम प्रथम लटमा उपलब्ध गराउन पर्ने सामानहरु जहाजको क्षमता (१२५ सिभिएम्) भित्र कम्पनीको सामान तथा तथा को समान तोकिएको मितिअगावै आपुर्ति गरी दोश्रो लट र पहिलो लटको बाँकी समानहरु संझौता बमोजिम अप्रिल २ तारिखमा ढुवानी गर्न जहाजको लागि नेपाल वायुसेवासंग समन्वय गर्दा ४ अप्रिल अगाडी जहाज उपलब्ध गराउन नसकिने जानकारी प्राप्त भएको र यस विषम परिस्थितीको जानकारी लिखितरुपमा विभागमा गराउदा समेत एकतर्फिरुपमा संझौताको प्रावधान विपरित संझौता भंग गरेको ।

१२. ओम्नी समुह विगत २४ वर्ष देखि ब्यवसाय गर्दै आएको । यस गु्रपले १०० जाना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको । वार्षिक करोडौं रुपैया कर वापत सरकारलाई भुक्तानी गर्दै आएको ।

१३. यो कम्पनी, कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई मूख्यरुपमा सूचना प्रविधि तथा जेनरल ट्रेडिङसम्बन्धी क्षेत्रमा कार्य गर्दै आएको साथै विगत ५ वर्ष देखि मेडिकल इक्वीपमेन्ट तथा Accessories हरु आयात तथा विक्रि वितरण र सोको सेवा दिदै आएको । नेपालको प्रायः सबै ठूला अस्पतालहरुमा Critical Care सम्बन्धी उपकरणहरु यस कम्पनीले उपलब्ध गराएको छ । जस्तै टिचिङ्ग अस्पताल, विर अस्पताल, प्रसुती गृह, नेपाल मेडिसिटी, नोवेल मेडीकल कलेज, नर्भिक, ग्राण्डी ।

१४. भाटभटिनीको भवनको २ तल्ला हामीले भाडा लिएर कार्यालय संचालन गरेको । यस वाहेक अन्य सम्बन्ध नरहेको ।

१५. यस विषम परिस्थितीमा सामान तथा उपकरणहरु सस्तो मूल्य दिनसक्छु भन्ने एनआरएनएको प्रतिनिधी र ब्यापारीहरु अहिले कहाँ छन् ?

देश विषय परिस्थितीवाट गुज्रिरहेको यस अवस्थामा सरकारलाई हामीले जस्तै सवै पक्षवाट सहयोग गर्नुपर्नेमा आम जनतालाई तरगित पारी धमिलो पानीमा आफ्नो स्वार्थ पूरा गर्ने अभिष्टका साथ सरकार, सरकारी संयन्त्र तथा हामीलाई आक्रमण गरी कसलाई फाईदा भयो ?

१६. हामी राष्ट्र र जनताको हितमा सधै लागि रहने प्रतिवद्धता दोर्याउन चाहन्छौ । यस महामारीवाट पार पाउन हामी सबैले आफ्नो पक्षवाट सकारात्मक सोचका साथ अगाडी बढ्न आवश्यक रहेको र आम नागरिकलाई मानसिकरुपमा विक्षिप्त पार्ने गरी तथ्यहिन समाचार संप्रेषण नगर्न हाम्रो विनम्र अनुरोध छ । विशेष परिस्थितीमा भएको यस संझौतामा कतै कुनै कमी कमजोरीका कारण जनता तथा राष्ट्रलाई हानी नोक्सानी भएको प्रमाणित भएमा हामी त्यसलाई सच्याई आफ्नो दायित्व पूरा गर्न तत्पर रहेको आम जनसमुदायहरुमा जानकारी समेत गराउन चाहन्छौ ।

१७. अन्तमा, राष्ट्र, सरकार तथा हामीमाथि भएको गैह्रजिम्मेवार प्रहारप्रति हामी खेद प्रकट गर्दछौं । यस विषम घडीमा निहित स्वार्थ भएका केही तत्वहरुको जालोले चलाएको प्रपोगाण्डामा कुनै सत्यता नभएको दृढताका साथ स्पष्ट पार्न चाहन्छौं । यस विषम घडीमा विचलित तथा भ्रमित नहुन हामी हाम्रा संपूर्ण शुभेच्छुक, ब्यापारिक साझेदारहरु, सम्बन्धीत सस्थाहरु, सेवाग्राहीहरु तथा आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं । देशको चौथो अंगको रुपमा रहेको आम संचार जगतवाट सत्य तथ्य सहित यथार्थपरक समाचार संप्रेषण हुनेमा हामी विश्वस्त छौ ।

धन्यवाद ।

मिति : २०७६।१२।२७