जनता टाइम्स

२९ चैत्र २०७६, शनिबार १८:५२

कुहिएको दाल बिक्रि गर्दै गरेका कांग्रेस नेताको गोदाममा शिलबन्दी


बारा, चैत २९

कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यादव चिस्यान गोदाम (कोल्ड स्टोर)मा स्थानीय प्रशासनले शिलबन्दी गरिदिएको छ । संकटका बेलामा कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ मा रहेको सो गोदाममा शनिबार शिलबन्दी गरेको हो ।

यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन् । उनी यादवका छोरा समेत हुन् । लकडाउनको मौका छोपेर चार वर्षदेखि गोदाममा थन्किएको दाल खपत गर्ने उद्देश्यले मेयर रायले आफ्ना नजिकका वडाध्यक्षलाई उधारोमा बिक्री गरी राहतमा बाँड्न लगाएको पाइएको छ । जनस्तरबाट कुहिएको दाल वितरण गरिएको गुनासो आएपछि स्थानीय प्रशासन र प्रहरीले अनुगमन गरेको थियो । अनुगमनको क्रममा कुहिएको दाल फेला परेको हो । अनुगमनपछि उक्त गोदाममा शिलबन्दी गरिएको छ ।

गोदाममा बाँकी रहेको ३ सय ८० बोरा (९ हजार ५ सय केजी) रहरको दाल शिलबन्दी गरी स्थानीय प्रशासनले जाँचका लागि त्यसबाट नमुना संकलन गरेको छ । परीक्षणबाट अखाद्य प्रमाणित भएपछि खाद्य ऐनअनुसार कारबाही गरिने बताइएको छ ।

अति विपन्न र दैनिक ज्यालादारी गरी खाने सर्वसाधारणका लागि सरकारले राहत वितरण गर्न निर्देशन दिएपछि स्थानीय तहका वडाहरुले त्यही दाल खरिद गरी राहत वितरण गरिरहेका थिए । मेयर यादवले भने व्यापारीका प्रतिनिधिमार्फत उक्त दाल वडाध्यक्षहरुले खरिद गरी राहतमा बाँडेको बताएका छन् ।