जनता टाइम्स

२९ चैत्र २०७६, शनिबार २०:३६

एकताबद्ध भई कोरोनाविरुद्धको लडाईंमा लाग्न मुख्यमन्त्री पोखरेलको आग्रह


बुटवल, चैत २९

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सबैको सहकार्य र सहयोगबाट नै कोरोनाविरुद्धको लडाईं जित्न सकिने बताउनुभएको छ । उहाँले कोरोनाविरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट सम्भव भएको बताउँदै एकताबद्ध भई कोरोनाविरुद्धको लडाईंमा लाग्न आग्रहसमेत गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका काम र आगामी योजनाबारे आज आयोजना गर्नुभएको सर्वदलीय बैठकमा तीन तहका सरकारले अहिलेसम्म गरेका काम र योजनाबारे जानकारी गराउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बाँके, दाङ, बुटवल र भैरहवामा चार वटा सघन उपचारकक्षसहितको कोरोना विशेष अस्पताल तयार गरी उपचार शुरु गरेको बताउनुभयो । त्यसैगरी भैरहवामा प्रदेश प्रयोगशालामा कोरोना भाइरसको परीक्षण भइरहेको केही दिनमै नेपालगञ्जमा पनि परीक्षण हुने र दाङमा पनि पिसिआर मेशिन ल्याउन प्रक्रिया अघि बढेकोले छिट्टै हुने बताउनुभयो ।

उहाँले नेपाल–भारत सीमा क्षेत्रमा कडाई गरिएको र सशस्त्र प्रहरी बलको आवश्यक सङ्ख्या थप गरी परिचालन गरिएको बताउँदै स्थानीय तहले भारतलगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क सङ्कलन र क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क सङ्कलन गरी राहत वितरण गर्न थालेको बताउनुभयो ।

सर्वदलीय बैठकमा प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, संसदीय समितिका सभापति दधिराम न्यौपाने, हरि रिजाल, नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य फकरुद्दीन खान, विजय जयसवाल, समाजवादी फोरमका प्रदेशसभा सदस्य सन्तोष पाण्डे र राजमो प्रदेशसभा सदस्य तारा जिसी सहभागी हुनुहुन्थ्यो । बैठकमा सहभागीले कोरोनाविरुद्धको लडाईं सरकारको मात्रै नभएर सबैको साझा भएकाले सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी गराउनुभयो ।