जनता टाइम्स

३० चैत्र २०७६, आईतवार ११:४९

भारतबाट आएका एक व्यक्तिसहित दुई जना अस्पतालको आइसोलेसनबाट भागे


डडेल्धुरा, चैत ३०

डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका दुईजना भागेका छन् । उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेको अस्पतालले जानकारी दिएको छ ।

कोभिड–१९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिनुभयो । ‘तीन दिन अघि उहाँहरूलाई हामीले आइसोलेसन वार्डमा भर्ना गरेका थियौँ। अस्ति मात्रै उहाँकोहरूको नमुना संकलन गरेर काठमाडौं पठाइएका थियो’, उहाले भन्नुभयो, ‘दिउँसोसम्म यतै हुनुहुन्थ्यो । पछि हेर्दा अस्पतालमा भेटिएनन् ।’

दुबैजनाको स्वास्थ्य अवस्था सामान्य नै थियो । अस्पतालबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन् । उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ । गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमा–छोरा हुन् । छोरा भारतबाट आएको बुझिएको छ ।