जनता टाइम्स

३० चैत्र २०७६, आईतवार १३:१२

वीरगञ्जका मस्जिदमा रहेका २६ जनालाई क्वारेन्टाइनमा राखियो


वीरगञ्ज, चैत ३०

वीरगञ्जको छपकैया र घुसुकपुरमा रहेको मस्जिदमा बसेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ ।

प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो । उनीहरु मध्ये १९ जना भारतीय जमाती, वीरगञ्जका ३ जना नेपाली मुस्लिम धर्मगुरु र ४ जना भारतबाट पाहुना आई मस्जिदमा बसेकोहरु रहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले छपकैया टोलको मस्जिदबाट ११ जना र घुसुकपुर टोलमा रहेको मसिजदबाट १५ जना गरि २६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई शनिबार साँझ प्रहरीले ई रिक्सामा राखेर लिएर आएको थियो । नियन्त्रणमा लिइएका सबैजनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसैबीच, वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएका भारतीयहरूमाथि नेपाली सेनाले निगरानी गरिरहेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले विपद्का बेला नेपाली सेना परिचालन हुन सक्ने व्यवस्थाअनुसार सिद्धार्थ माविमा सेनालाई पठाइएको बताउनु भयो ।