जनता टाइम्स

३० चैत्र २०७६, आईतवार १७:४६

मनकारी मेयर ! हिडेर घर गएका बटुवाको यसरी गरे उद्धार


बुटवल, चैत ३०

लकडाउनले अभावमा परेर पैदलै घर जादै गरेका ७५ मजदूरलाई रूपन्देहीको सैनामैना नगरपालिकाले बसको व्यवस्था गरि दिएको छ । बर्दिया जानका लागि काठमाडौंदेखि पैदल यात्रा गरी आएका उनिहरुलाई नगरपालिकाले गाडीको व्यवस्था गरी घरतर्फ पठाइदिएको हो ।

पाँच दिन लगाएर काठमाडौंबाट आइपुगेका ७५ मजदूरलाई बुटवलसँग जोडिएको सैनामैना नगरपालिकाले डिलक्स बसको व्यवस्था गरी घरतर्फ पठाएको छ । शनिबार साँझ सैनामैनासम्म आइपुगेका उनीहरूलाई नगरप्रमुख चित्रबहादुर कार्कीको पहलमा एक रात राखेर घरसम्म पुर्‍याउन जिम्मा लिनुभयो ।

यसका अलावा रूपन्देही लगायतका विभिन्न क्षेत्रमा निर्माण मजदुरका रूपमा काम गरिरहेका बर्दिया, प्रदेश नं ५ लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका मजदुरहरूलाई पनि आइतबार यातायातको व्यवस्था मिलाई घर पठाइएको सैनामैना नगरपालिकाका नगरप्रमुख कार्कीले जानकारी दिनुभयो ।

कैलाली टिकापुरका ४० जना, बर्दिया राजापुरका २३ जना कपिलवस्तु वाणगंगाका १ जना र अन्यत्रको १ गरी ७५ जनालाई घर पठाइएको नगरपालिकाले जनाएको छ । चिकित्सालयमा प्रवेश गर्नुपूर्व उनीहरू सबैको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको समेत स्वास्थ्य निरीक्षक हेमराज पन्थीले जानकारी दिनुभयो ।