जनता टाइम्स

१ बैशाख २०७७, सोमबार १४:४८

नयाँ वर्षमा मेयर शाक्यको सन्देश : गाउँ नफर्किनोस, समस्यामा परेकालाई सहयोग गर्छौं


काठमाडौं, बैशाख १ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नव वर्ष २०७७ को उपलक्ष्यमा सम्पूर्ण महानगरवासीमा सु–स्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

जारी सन्देशमा विश्वभरी नै महामारीका रुपमा फैलिदैँ गइरहेको कोरोना भइरस (कोभिङ–१९) बाट हामी शिघ्र मुक्त हुन सकौँ भन्ने कामना पनि व्यक्त गर्नुभएको छ । ‘यस महामारी विरुद्ध लड्न हामी सबैलाई साहस र हौसला प्राप्त होस् भन्ने कामना व्यक्त गर्दछु,’ सन्देशमा भन्नुभएको छ । उहाँले अहिले विश्वभरी नै कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न सबै जना आ–आफ्नै घरमा लकडाउनको अवस्थामा रहेको स्मरण गराउँदै नयाँ वर्षलाई धुमधामसँग नमनाउन पनि आग्रह गर्नुभएको छ । ‘यस्तो स्थितिमा नव वर्षको यस शुभदिनलाई अन्य सामान्य अवस्थामा जस्तै धुमधामपूर्वक नमनाई सरकारले लागु गरेको लकडाउनको पालन गर्दै आफ्नै घर परिवार भित्र सीमित रही मनाउनु हुन सम्पूर्ण महानगरवासीमा हार्दिक अपिल गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘यस विषम परिस्थितिमा महानगरवासीमा परेको असुविधाप्रति दुःख व्यक्त गर्दछु ।’

कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न अहिले काठमाडौँ महानगरपालिकाले हरेक दिन विभिन्न वडाहरुमा किट्नाशक औषधी छर्कने, बु्रमर प्रयोग गरी नियमित सरसफाई गर्ने, नियमित फोहोर उठाउने कार्यलाई तिव्रता दिदैँ आइरहेका पनि उल्लेख गर्नुभएको छ । ‘लकडाउनका कारणले हातमुख जाड्न समस्यामा परेका नगरवासीलाई वडा कार्यालयहरुबाट राहत सामग्री उपलब्ध गराइरहेका छौँ,’ उहाँले भन्नुभएको छ । नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति उहाँले संकेत गर्दै संकटको घडीमा गाउँ नफर्किन पनि आग्रह गर्नुभएको छ ।

‘केही नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेका समाचारहरु सुनिनमा आएका छन् । यो संकटको घडीमा उहाँहरुलाई सहर छाडेर नगइदिनुहुन र यहाँ बस्दा कुनै पनि प्रकारको समस्या आएको भए आफू बसेको सम्वन्धित वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको टोल फ्रि नम्बर ११८० मा सम्पर्क गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ,’ उहाँले भन्नुभएको छ, ‘साथै महानगपालिकाले महानगवासीको लागि प्रयोगमा ल्याएको कोभिड–१९ संक्रमण बारे स्वमुल्याकंन गर्न सकिने नेपाल कोभिड–१९ सर्भिलेन्स डाउनलोड गरी प्रयोग गर्न हुन र विरामी अस्पताल लैजान समस्या भएमा महानगरपालिकाको सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवा १०२मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु । अन्त्यमा, नव वर्ष २०७७ को उपध्यमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’