जनता टाइम्स

३ बैशाख २०७७, बुधबार १८:१६

सुब्बाकै फेला पर्यो दुई करोड ‘अकुत’ सम्पत्ति


काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंका नायव सुब्बा (नासु) राजकुमार ढकालले दुई करोड अकुत सम्पति आर्जन गरेको तथ्यसहित मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमानस्थलमा एक्सरे टेक्निसियन रहेका ढकालले दुई करोड दुई हजार ८८६ रुपैया अकुत सम्पत्ति आर्जन गरेको ठहरसहित मुद्दा दायर गरेको हो ।

अख्तियारले ढकालबिरुद्ध सोही बरावरको बिगो कायम गरी दुई वर्ष कैद तथा आर्जन गरेको सम्पति जफतको माग दाबी गरेको छ । ढकालले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा परीक्षण अवधिमा कुल आय भन्दा व्यय बढी भएको देखिएको अख्तियारको भनाई छ । ढकालले पेश गरेको सम्पत्ति विवरण आर्थिक हैसियत भन्दा अस्वभाविक र अमिल्दो रहेको, निजको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको हो ।

ढकालको नाममा रहेको विभिन्न खाताबाट अस्वभाविक रुपमा आयस्रोतभन्दा बढी रकम चेकमार्फत सापटी दिएको देखिएको हुनाले उनको सम्पत्तिको वैद्य स्रोत खुल्न नसकेको अखितयाले जनाएको छ । अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार ढकालले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणि लामिछानेको नाममा चल–अचल सम्पत्ति लुकाई राखेको पुष्टि हुन आएको छ । ढकालले भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुर गरेको देखिंदा बिगो बमोजिम जरिवाना र कैद सजाय हुनसमेत मागदाबी गरिएको कोइरालाको भनाई छ ।

जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्ति तथा लगानी एवं घर निर्माण लागतलगायत गैरकानुनी रुपमा आर्जन गरेको बिगो बराबरको एकाघर श्रीमती निरजरा घिमिरे, राममणि लामिछाने र आफ्नै नाममा राखिएको सम्पत्ति रोक्का राखी सो सम्पत्तिबाट असूल उपर जफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानुनबमोजिम ढकालबाटै असुल उपर गरी जफत गर्न अख्तियारले माग दावी गरेको हो ।

ढकालले आफ्नो श्रीमतीको नाममासमेत घर जग्गा खरिद, बैंक खातामा रकम मौज्दात राखेको र लगानी तथा खर्च गरेको पाइएको आरोप पत्रमा उल्लेख छ । ढकालले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति आफूलगायत श्रीमती निरजराको नाममा राखेको हुँदा स्रोत पुष्टि हुन नसकेको सम्पत्ति तथा खर्च एवं लगानीको लागत मूल्य बिगो बराबरको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ श्रीमती निरजरालाई पनि प्रतिवादी कायम गरिएको छ ।

ढकालले आफ्नो नाममा रहेको जग्गा लुकाउने छिपाउने उद्देश्यले र लामिछानेको नाममा राखेकोमा अनुसन्धानको क्रममा यथार्थ व्यहोरा खुलाई सहयोग गरेको हुँदा मतियार कायम गरी सजायको मागदाबी नलिइएको अख्तियारको भनाई छ । लामिछानेविरुद्ध ढकालले राखेको घर र सम्पत्ति जफत गरिपाउन समेत मागसहित विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।